काठमाडौँ । महिला तथा बाल बालिकामाथि हुने हिंसा र विभेदको कारण हानिकारक परम्परागत अभ्यासको अन्त्य गर्नका लागि सबै धर्मका अगुवाहरूले प्रतिबद्धता जनाएका छन् ।
वर्ल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा निरन नेपाल, अकोराब र सीआईएनको सहकार्यमा ललितपुरमा भएको कार्यक्रममा नेपालका मुख्य धर्मका धर्मगुरुहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
विजया दशमी, दीवावली, नेपाल संवत, उधौली, ल्होत्सार लगायतका चाढपर्वको अवसर तथा अन्तरराष्ट्रिय बालिका दिवसका अवसरमा गरिएको छलफल कार्यक्रममा उनीहरूले परम्परागत परम्परामा परिवर्तन ल्याउन लाग्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा स्लामिक संघका पूर्व अध्यक्ष नजरुल हर्सनले आफूहरूले आफ्नो सम्प्रदायमा भएका हानिकारक अभ्यासलाई सुधार गर्दै गएको बताउनुभयो ।
निरन नेपालका अध्यक्ष हर्स थापाले अब देशैभरि सामाजिक रुपान्तरणका कार्यक्रम धार्मिक अगुवाहरुले गर्नुपर्ने बताउनुभयो ।
आसोधाराका आचार्य डा. नम्रता पाण्डेले दसैँ जस्ता पर्वले महिलालाई उच्च स्थान दिएकोले सोही अनुसार समाजको व्याभारमा परिवर्तन हुनुपर्ने धारणा राख्नुभयो ।
विश्व जागरण अभियानका संरक्षक श्वामी विनोद शर्माले धर्म गुरुहरूले आफूलाई बढी जिम्मेवार बनाउनु पर्ने बताउँदै आफू सामाजिक रुपान्तरणका लागि चेतना फैलाउन लागिरहने बताउनु भयो ।
किरात धर्म गुरु तिर्थ गुरुङले आफ्नो धर्ममा बालिकामाथि कुनै प्रकारको हिंसा नभएको र बालविवाहको परम्परा पनि नरहेको उल्लेख गर्नुभयो ।
भिक्षु पिया दासीले शिक्षा र चेतनाको कमिका कारण नै विभेद र हिंसा रहेकोले चेतना फैलाउन नै जोड दिनु पर्ने बताउनुभयो ।
सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनका व्यवस्थापक दीपक आचार्यले हानिकारक परम्परागत अभ्यासहरुको अन्त्य गरि सामाजिक रुपान्तरणका लागि सीआईएन र सामुदायिक रेडियोहरुले निरन्तर चेतनामुलक कार्यक्रम गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा प्राय सबै धर्मका धर्म गुरुहरूले शुभकामना आदानप्रदान गर्नुका साथै सबैको भलाइका लागि प्राथना पनि गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८, १२:५९