काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूणर्ता पाए पनि सत्ता गठबन्धन दलहरूभित्रको विवाद र असन्तुष्टि अझैँ साम्य भएको छैन ।
अरु दलमा आन्तरिक रुपमा असहमति प्रकट भए पनि सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) का नेता प्रदीप यादवलगायत सार्वजनिक रुपमै विरोध गर्दै आएका छन् ।
सरकारको अबको कामकारबाहीमा पार्टीभित्रको विवादको प्रभाव देखिन नहुने माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सीआईएनसँग बताउनुभयो ।
एमसीसी परियोजना लगायतका विवादित विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने उहाँको भनाइ छ ।
दसैँ, तिहार, छठ लगायत पर्वपछि सरकारले सुशासन, विकासनिर्माणका काममा विशेष ध्यान दिनुपर्ने नेता पोखरेलले बताउनुभयो ।
‘सरकार सञ्चालन गर्दा काँग्रेसले पनि एकलौटी सरकार जसरी निणर्य लिनु भएन । सुशासन, विकासनिर्माणका काममा गतिका साथ अघि बढ्नुपर्छ । पूर्व शिक्षा मन्त्रीसमेत रहनुभएका नेता पोखरलले भन्नुभयो ।
मन्त्रिपरिषद्मा बहालवाला प्रधानन्यायाधीशको भागबण्डा, गैर सांसदको नियुक्ति लगायतका कारण सरकारको आलोचना भइरहेको छ । यद्यपी सांसद नभए पनि मन्त्री बन्नुभएका काँग्रेस नेता गजेन्द्र हमालले राजीनामा दिइसक्नुभएको छ ।
सीआईएनसँगग कुराकानी गर्दै काँग्रेस सचेतक पुष्पा भुसालले स्वास्थ्य, सुशासन र विकासका काममा ढिलासुस्ती गर्ने छुट सरकारलाई नभएको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दललाई संसदको अवरोध खुलाउन अनुरोध गर्दै नेता भुसालले सरकारको कामकारबाहीको निगरानी गर्ने जिम्मेवारी संसद र सांसदको भएको टिप्पणी गर्नुभयो ।
देउवा नेतृत्वको सरकार गठन भएको आज ९५ दिन पूरा हुँदैछ ।
गठन भएको ८८ दिनमा विस्तार भएको सरकार र सरकारका आगामी कामकारबाहीको बारेमा सीआईएनसँग कुरा गर्दै विश्लेषक श्याम श्रेष्ठले गठबन्धनभित्र विवाद देखिनुले राम्रो सङ्केत नमिलेको बताउनुभयो ।
लामो समयको अन्तरालमा नेपालमा गठबन्धन भएको उल्लेख गर्दै उहाँले चलाउन सके राम्रो परिणाम निकाल्न सकिनेमा जोड दिनुभयो ।
सरकार गठनमा भएको ढिलाइ र विस्तारपछिको गठबन्धन दलभित्रको विवादको प्रभाव सरकारको कामकारबाहीमा देखिने हो कि भन्ने चिन्ता नागरिकमा छ ।
प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८, ०८:०९