काठमाडौँ । बारा, मकवानपुर र चितवनमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
गएराति बाराको जितपुर सीमरा उपमहानगरपालिका २३ मा ट्याङ्कर र कार ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका कार चालक भारतीय नागरिक ३४ वर्षका राजन सराफको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै तथा २५ वर्षका सरज प्रसाद र २७ वर्षका कृत सिंहको उपचारको क्रममा वीरगन्जको वयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ना ३ ख ७५९४ ट्याङ्कर र भारतीय नम्बरको कार ठोक्किएको हो । दुर्घटनापछि फरार ट्याङ्कर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ वनढाटमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
नारायणगढबाट झापा जादै गरेको ना ६ ख ७६९ नम्बरको बसले ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रकाश दियाली र हेटौंडा-३ का २२ वर्र्षका सुशान्त दियालीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चितवनको रत्ननगर नगरपालिका ६ हात्तिदौड चौतारामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
ना ४५ प ५०८३ नम्बरको मोटरसाइलले ठक्कर दिँदा स्थानीय ६५ वर्ष पाकु महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उहाँको उपचारको क्रममा जिल्ला अस्पताल चितवनमा मृत्यु भएको हो ।
प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८, ०८:५३