काठमाडौँ । सामाजिक सुरक्षाभत्ता र निवृत्ति भरण दुवै सुविधा लिनेको सङ्ख्या बढेको भन्दै सरकारले कडाइ गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गरेको परिपत्रमा सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था कडाइका साथ पालना गराउन भनिएको छ ।
विभागका अनुसार निवृत्तिभरण प्रणालीको विवरणसँग मिलाउँदा सामाजिक सुरक्षाभत्ता र निवृत्तिभरण दुवै सुविधा लिने २४ सय ६६ जना लाभग्राहीको लगत कट्टा गरिएको छ ।
विभागका सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सूचना प्रणालिका संयोजक निर्मल शर्माले दोहोरो सुविधा लिने प्रवृत्ति हटाउन प्राविधिक व्यवस्थापन प्रक्रियामा कडाइ गरिएको सीआईएनसँग बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या हालसम्म साढे ८४ हजार भन्दा धेरै रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८, ०९:०२