काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीसँग तीन बुँदे सहमति भएको साढे ७ महिनापछि सरकारले सहमति कार्यान्वयनका लागि छलफल सुरु गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग मन्त्रालयमा हिजो (आइतवार) छलफल गर्नु भएको हो ।
बैठकपछि सीआईएनसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले प्रारम्भिक चरणमा छलफल भएको र गृह, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट सहमति कार्यान्वयनको खाका बनाइसकेपछि आवश्यक निणर्य लिइने बताउनुभयो ।
छलफलमा कानुन सचिव सापकोटा र महान्यायाधिवक्ता खातीले कस्ता मुद्दा खारेज गर्न मिल्ने र जेलमा रहेका कस्ता कैदीबन्दीलाई रिहाई गर्न मिल्ने भन्नेबारे जानकारी गराउनुभएको थियो ।
कानुनसचिव सापकोटाले केही फिर्ता गर्न नमिल्ने प्रकृतिका मुद्दा मात्रै बाँकी रहेको जानकारी गराउनु भएको थियो ।
सहमति कार्यान्वयनका लागि बाँकी रहेका विषयमा मन्त्रालयगत छलफल गर्ने र तयारी पूरा भएपछि नेकपाका नेताहरूसँग बसेर टुंग्याउने सहमति बनेको मन्त्री खाँणको भनाइ छ ।
नेकपाका नेताहरूले अहिलेको सरकार आइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवुकमार नेपाल, गृहमन्त्री खाँणसहितलाई भेटेर अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८, ०७:२२