काठमाडौँ । मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।
९३ रनको लक्ष्य नेपाली यू–१९ टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको जितका लागि रित गौतमले नटआउट ३९ रन बनाउनुभयो । आशिफ शेखले २६, पजन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान गरे ।
मलेसियालाई झिनो स्कोरमा समेट्ने क्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए भने कमलसिं ऐरीले २ र सागर ढकालले एक विकेट लिए ।
बायुमास ओभलमा रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा अलआउट भयो ।
पहिलो खेलमा सिंगापुरमाथि २१७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा डीएल नियमका आधारमा यूएईसँग १ रनको हार व्यहोरेको थियो ।
यूएईसँगको हारले विश्वकपमा छनोट हुने नेपालका लक्ष्य भने कठीन भएको छ । यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुनेछ ।
बाँकी खेलमा नेपालले जिते मात्रै पुग्दैन नेपालले यूएईले कम्तिमा एक खेल गुमाउँनु पर्ने छ र त्यसमा नेट रन रेटमा समेत नेपालले उछिन्नु पर्ने छ । यूएई अहिसम्मका तीन खेलमा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थान छ ।
आजै भएको कुवेतविरुद्धको खेलमा यूएई ७ विकेटको विजयी भएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६, १०:५८