काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणको दरमा कमी आएपनि तेस्रो चरणको लहर आउन सक्ने जोखिम रहेको भन्दै चिकित्सकहरूले सचेत गराएका छन् ।
कोरोना महामारीको दोस्रो चरणको लहर अझै नसकिएको हुँदा र मृत्यु हुनेदर पनि शून्यमा नझरेकाले सचेत रहन चिकित्सकहरूले आग्रह गरेका हुन् ।
पछिल्लो समय मानिसहरूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि परीक्षण नगराउने र जनस्वास्थ्यका मापदण्ड पालना नगरेको भन्दै तेस्रो लहरको जोखिम रहेको सशस्त्र प्रहरी अस्पताल बलम्बुका डा.रोशन कुमार झाले सीआईएनसँग बताउनुभयो ।
उहाँले दसैँको समयमा पनि कोरोना सङ्क्रमणको दरमा कमी नआएको र मृत्यु हुनेदर पनि शून्यमा झर्न नसकेकाले जोखिम कायमै रहेको बताउनुभयो ।
डा.झाले कोरोनाको तेस्रो लहरको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन पनि आग्रह गर्नुभयो । नेपालमा पछिल्लो समय दैनिक औसतमा ७ सयका दरले नयाँ सङ्क्रमित थपिने गरेका छन् भने १० जनाको मृत्यु हुनेको गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८, ०९:०६