काठमाडौँ । एक वर्षदेखि अवरुद्ध सुलिचौर-अरेश-प्यूठान सडकखण्ड सञ्चालनका लागि नेपाली सेना परिचालित भएको छ ।
जिल्ला प्रशासन कार्यालय रोल्पा तथा सुनिल स्मृति गाँउपालिकाको पहलमा रोल्पा जिल्लामा तैनाथ नेपाली सेनाको बटुकदल गणले यही कात्तिक ७ गतेदेखि काम सुरु गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
दैनिक रुपमा ब्लाष्टर टोली प्रयोग गरि उक्त सडकखण्डमा रहेको अवरोध हटाउने काम भइरहेको जनाइएको छ ।
सुनिल स्मृति गाँउपालिका वडा नम्बर ४ स्थित सुलिचौर-अरेश-प्युठान सडकखण्डको धनचौर ईलाकामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा रोल्पा तथा प्युठान जिल्लाका दुर्गम स्थानमा बसोबास गर्ने सर्वसाधारणहरुलाई यातायात तथा सामान ढुवानीमा समस्या भएको छ ।
सडक बन्द हुँदा लामो दुरीमा पैदल तथा वैकल्पिक बाटो प्रयोग गरी यात्रा गर्नु पर्ने बाध्यता नागरिकको छ । पहिरोसहित आएको ठूलो ढुङ्गाले सडक खण्डको करीब २० मिटर भाग अवरुद्ध भएको छ ।
पूर्ण रुपमा सडक सञ्चालन हुन थप केही समय लाग्ने नेपाली सेनाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८, १३:३९