काठमाडौँ । सत्ता गठबन्धनबीचको पूर्व सहमति कार्यान्वयनका कारण प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
योसँग प्रदेश र सङ्घमा एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको छ ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले हिजो राजीनामा दिएसँगै प्रदेश सरकारको नेतृत्वबाट एमाले पूर्ण रूपमा बाहिरिएको हो ।
गत भदौ १० गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री आचार्यले जनताको चाहना र संसदको अङ्कगणित नमिलेका कारण राजीनामा दिएको बताउनुभयो ।
२०७४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि चारवटा प्रदेश सरकारको नेतृत्वमा एमाले पुगेको थियो ।
२०७४ मा भएको सङ्घ र प्रदेशसभा निर्वाचनमा सबैभन्दा ठूलो दलसमेत बनेको नेकपा एमालेले केन्द्रसँगै सात मध्ये चार वटा प्रदेश सरकारको नेतृत्व पाएको थियो ।
सीआईएनसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले एमालेलाई सरकारमा रहनु र नरहनुले फरक नपार्ने बताउनुभयो । आफ्नो पार्टी महाधिवेशनमा केन्द्रीत रहने पनि उहाँको भनाइ छ ।
यसअघि गण्डकी, लुम्बिनी र बागमती प्रदेश सरकारको नेतृत्वबाट एमाले बाहिरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८, ०८:०६