काठमाडौँ । समयमै निर्माण सम्पन्न भएको भए नेपालमा २ हजार मेगावाट थप बिजुली उत्पादन हुन्थ्यो ।
तर खोला आगटेर समयमा काम नगर्ने प्रवृत्तिका कारण ५१ जलविद्युत आयोजना पूरा हुन सकेका छैनन् । विद्युत विकास विभागका अनुसार सम्भाव्यता र वातावरणीय अध्ययन गर्नका लागि हालसम्म २ सय ३ आयोजनाले अनुमति पाएका छन् ।
ती आयोजनाबाट १ हजार ६ सय मेगावाट बिजुली उत्पादन हुने अनुमान गरिएको छ ।
८ हजार ३ सय ५३ मेगावाट विद्युत उत्पादन गर्नेगरी २ सय १६ आयोजनाले उत्पादन अनुमति लिएको विभागका सूचना अधिकारी निशा रिजालले बताउनुभयो ।
जलविद्युत आयोेजनाले ३५ वर्षका प्राप्त गर्ने अनुमति अर्थात लाइसेन्सको अवधिमा आयोजनाको सर्वेक्षणदेखि विद्युत उत्पादन गरिसक्नुपर्छ । तर लाइसेन्स लिएकाहरूले समयमै काम सक्ने गरेका छैनन् ।
२०६६ देखि एक वर्षको बीचमा ५१ आयोजनाबाट ३ सय ३० मेगावाट विद्युत उत्पादन हुन सकेको छैन ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोरोना सङ्क्रमण न्यूनीकरण गर्न गरिएको लकडाउनका कारण निर्माणको काम प्रभावित भएको बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार हाल १ सय १७ आयोजनाबाट १३ सय ९८ मेगावाट विद्युत उत्पादन र परीक्षण भइरहेको छ । २ सय २९ आयोजना निर्माणाधीन अवस्थामा छन् ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विद्युत खरिद सम्झौता भएका आयोजनाको विद्युत खरिद गर्न प्राधिकरण तयार रहेको बताउनुभयो ।
आर्थिक वर्ष २०७८/७९ मा १ हजार ३२ मेगावाट बिजुली थपिने र ७९/८० मा ४८ आयोजनाबाट ९ सय १९ बिजुली थपिने सरकारको अनुमान छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४१ आयोजनाले काम सक्ने भाका राखेका छन् । तर समयमै काम नसक्ने रोगले मुलुकलाई नोक्शान हुने गरेको विद्युत विषयका एकजना जानकार रत्न सन्सार श्रेष्ठले बताउनुभयो ।
भूकम्प, कोरोना महामारी लगायत कारण देखाउँदै निर्माणको जिम्मा लिएका कम्पनीहरूले भाका सार्दै आएका छन् ।
कोरोना महामारीका कारण प्रभावित भएको भन्दै सबै योजनालाई प्राधिकरणले १ वर्षको म्याद थपे पनि दोस्रो लकडाउन प्रभावित भएको दावी गर्दै विद्युत निर्माण कम्पनीले फेरि छुट माग्दै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८, १०:२८