काभ्रे । काभ्रेमा व्यावसायिक रुपमा तरकारी खेती गर्नेको सङ्ख्या बढेपनि बजार व्यवस्थापनदेखि आर्थिक तथा प्राविधिक सहयोग नपाइएको भन्दै किसानहरू असन्तुष्ट भएका छन् ।
यातयातको समस्या र बिचौलियाको कारण उत्पादनको उचित मूल्य नपाएको किसानको गुनासो छ ।
करिब ५० रोपनी जग्गामा फलफूल र तरकारी खेती गर्दै आउनु भएका काभ्रेको रोशी गाउँपालिका ७ का धन बहादुर लामाले उत्पादित फलफूल र तरकारी बजारसम्म पुर्याउन स्थानीय सरकारले चासो नदिएको बताउनुभयो ।
रोशी गाउँपालिकाका अनुसार पालिकाका ८ सय किसान व्यावसायिक तरकारी र फलफूल खेतीमा लागेका छन् ।
उनीहरूको उत्पादन बजारसम्म पुर्याउन कृषि उपज सङ्कलन केन्द्र स्थापना गरि सबै वडामा उत्पादित तरकारी ग्रेडिङ गरि बजार सम्म लैजाने योजना रहेको गाउँपालिकाका कृषिशाखा प्रमुख हरिकृष्ण लागेजुले बताउनुभयो ।
स्थानीय सरकार गठन र जनप्रतिधिको आगमनलाई सहाराका रुपमा बुझेको भएपनि बितेको ४ वर्षमा त्यसो महसुस गर्न नपाइएको काभ्रेको तेमाल गाउँपालिकाका किसान उत्तर बहादुर तामाङले बताउनुभयो ।
काभ्रेका किसानले फलाएका तरकारी र फलफूल काठमाडौँ, भक्तपुर लगायतका बजारसम्म पुग्ने गरेका छन् ।
काभ्रेमा गाउँपालिका र नगरपालिका गरी १३ स्थानीय तह छन् । स्थानीय सरकारले तरकारी खेती र फलफूल खेतीमा दिएको अनुदान तथा प्राविधिक सहयोग पर्याप्त नभएको किसानको गुनासो छ ।
जिल्लाका विकट क्षेत्र मानिने खानीखोला, चौरीदेउराली, भुम्लु, महाभारत गाउँपालिकामा तरकारी उत्पादनको सम्भावना भए पनि बजारसम्म पुर्याउन किसानलाई समस्या हुने गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८, १०:५०