काठमाडौँ । पछिल्लो २ हप्तादेखि राहदानी विभागमा राहदानी लिनेको सङ्ख्या एक्कासी बढेको छ ।
सामान्य अवस्थामा भन्दा अहिले दैनिक दोब्बरको सङ्ख्यामा सेवाग्राही बढ्दा राहदानी बनाउन विभाग आइपुगेकाहरूले समयमा काम सम्पन्न नभएको गुनासो गरेका छन् ।
राहदानी बनाउने सङ्ख्या बढेपछी २ हप्ता देखि विभागले टोकन प्रणाली लागु गरेको छ । जस अनुसार कात्तिक २६ गते सम्मका लागि विभागले टोकन वितरण गरिसकेको छ ।
बैदेशिक रोजगारिका लागि तिहार अगाडी नै राहदानी बनाउनुपर्ने भए पनि विभागले टोकन वितरण गरिसकेकोले काम नबनेको इलामका उज्ज्वल चापागाईले बताउनुभयो ।
विभागले सामान्य अवस्थामा दैनिक ७ देखि ८ सयलाई राहदानी दिने गरेको थियो । सेवाग्राहीको चाप बढेपछि १ हजार ४ सयलाई एकैदिन राहदानी वितरण गरेको राहदानी विभागले जनाएको छ ।
भीड बढे पनि सकेसम्म सहज हुने गरी काम गरेको विभागका निर्देशक सागर फुयाँलले सीआइएनलाई बताउनुभयो ।
डीभी भर्ने, रोजगारीका लागि इजराइल जाने र ब्रिटिस आर्मिमा जाने लगायतको प्रयोजनका लागि अहिले राहदानी बनाउनेहरू बढेका छन् ।
सरकारले मङ्सिरदेखि विद्युतीय राहदानी लागु गर्ने बताइरहेको भए पनी हालसम्म पनि एमआरपी राहदानी बनाउने सङ्ख्या उस्तै छ । फारम भर्न अनलाइनबाट सकिने भए पनि सहज नभएपछि कार्यालयमा नै सेवाग्राहीको भीड लागेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८, ११:१८