काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जानु भएको छ ।
भ्रमणको लागि श्रीमति सुनिता शर्मासहित ९ सदस्यीय भ्रमण दलकासाथ शर्मा आज बिहान नेपाली सेनाको विमानमार्फत दिल्ली प्रस्थान गर्नु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
शर्मालाई नेपाली सेनाको मध्य एयर बेश, गौचरमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गर्नु भएको थियो ।
भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति शर्मालाई जङ्गी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । शर्मालाई भोलि भारतका राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको क्रममा प्रधान सेनापति शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्नु हुने नेपाली सेनाले जनाएको छ ।
उहाँले आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भि आर चौधरीसँग समेत भेटघाट गर्नु हुने कार्यक्रम छ ।
प्रधान सेनापति शर्माको भारत भ्रमणको अवधिभर उहाँको अनुपस्थितीमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।
प्रधान सेनापति शर्मा यही कार्तिक २६ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८, ११:०२