काठमाडौँ । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ ।
खरनाको दिन बिहानैदेखि निराहार ब्रत बस्ने र साँझ सख्खर भएको खिर पकाएर केरा, लड्डु, मुलासहितको प्रसाद चढाएर ब्रतालुले समेत सोही प्रसाद खाने चलन रहेको छ ।
आज दिनभर ब्रत बस्नेले सूर्य अस्ताएपछि चन्द्रदर्शन गर्छन् । हिजो छठ पर्वको पहिलो दिन नहाय खाय मनाइएको थियो ।
छठको तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा गरिन्छ भने चौथो दिन उदाउँदो सूर्यको पूजा गरेर पर्व समापन गरिन्छ । यस पर्वमा अघ्र्य दिने जलासय किनारमा आकर्षक घाट बनाउने र सरसफाइमा विशेष महत्व दिइन्छ ।
छठ मनाउन नदी तलाउका किनारहरूमा सजावट गरी झकिझकाउ बनाइएको छ । सन्तान सुख प्राप्ति र निर्धनताको अन्त्यका साथै आरोग्यकता लागि छठ पर्व मनाउने गरिन्छ ।
सुरुमा मिथिलाञ्चलमा मात्र मनाइने यो पर्व हिजोआज सबै जातजाति र धर्माबलम्बीले पनि मनाउने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८, ११:४९