काठमाडौँ । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा रौतहट क्षेत्र नम्बर १ समितिका सदस्यहरु १ सय १० दिनदेखि अनसनमा बसिरहेका छन् ।
तीन महिनाभन्दा बढी समयदेखि जारी अनसनका माग पूरा गर्न आनाकानी गरिरहेको भन्दै कार्यकर्ताले काँग्रेस पार्टी भित्रको लोकतान्त्रिक परिपाटीमा नै प्रश्न उठेको बताएका छन् ।
पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित क्रियाशील सदस्यता नविकरण तथा नयाँ वितरण गरिएको भन्दै यसलाई सच्याउनुपर्ने उनीहरूको माग छ ।
नेता विजय कुमार गच्छ्दारसहित मधेसी जनअधिकार लोकतान्त्रिक फोरमबाट समायोजन हुन आएका नेता कार्यकर्ताको सङ्ख्याभन्दा बढी सदस्यता वितरण गरेको उनीहरूको गुनासो छ ।
नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले कात्तिक ११ गते १४ औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको थियो । जसमा रसुवा र रौतहट जिल्ला समावेश गरिएको छैन ।
क्रियाशील सदस्यता विवादको विषयले महाधिवेशन कार्यतालिका नै प्रभावित हुँदा पनि वार्ताका लागि नेतृत्वले चासो नदिएको अनसनमा बस्नेहरू बताउँछन् ।
रिले अनसनमा रौतहट काँग्रेस क्षेत्र नम्बर १ का २ सय ६५ जना सहभागी छन् । चिसो सुरु भएसँगै कतिपयलाई रुघाखोकीको समस्या देखिन थालेको छ । तर पार्टीभित्रको शुद्धिकरणको लागि सबै कष्ट बिर्सिएको अनसनमा सहभागी भोगेन्द्र झाको भनाइ छ ।
काँग्रेसले पटकपटक सार्दै मङ्सिर २४ देखि २६ गतेका लागि महाधिवेशन हुने गरी नयाँ मिति सार्वजनिक गरेको छ ।
महाधिवेशन आउँन १ महिना मात्रै बाँकी रहदा क्रियाशील सदस्यताको विवाद टुङ्गिएको छैन । उनीहरूको समस्या समाधानमा नेतृत्वले पहल गर्नुपर्ने काँग्रेस नेता प्रदीप पौडेलले सीआइएनसँग बताउनुभयो ।
सदस्यता र प्रतिनिधिको विवादले तोकिएको समयमा महाधिवेशन सम्पन्न हुने चुनौती त छँदैछ, तीन महिना लामो अनसनलाई समेत सम्बोधन गर्न नसक्नुले काँग्रेसले पार्टी भित्रको प्रजातान्त्रिक परिपाटी गुमाउदै गएको कार्यकर्ताको गुनासो छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८, १२:०५