पर्वत । फर्सेका करिब ५० घरपरिवारको जीवन गुजाराको आधार तरकारी खेती हो । स्थानीय तुलबहादुर खत्रीले व्यावसायिक तरकारी खेती गर्न थालेको २२ वर्ष भयो ।
सुरुका केही वर्ष डोकोमा बोकेर बजारका घरघरै पुर्याउने उहाँको बानी अहिले घरनजिकै सडक आएपछि बदलिएको छ । तर तरकारी बेचेर आउने पैसाले कृषिमा गरेको लगानी नै उठ्न मुस्किल परेपछि उहाँ समस्यामा पर्नुभएको छ ।
जिल्लामा भारतबाट समेत तरकारी आयात हुन्छ । बजारका थोक बिक्रेताहरुले भारतीय बजारको तरकारी ल्याएर यहाँको उत्पादनसँग प्रतिस्पर्धा गराउँदा त्यसको झन् बढी असर परेको किसानहरु बताउँछन् ।
कुश्मा नगरपालिका ८ चुवाका कृष्णप्रसाद भुवालीले भारतबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्न यहाँका किसानलाई मुस्किल परेको बताउनुहुन्छ ।
विचौलियाले किसानसँग थोकमा किनेको तरकारी थोकमै बेच्दा पनि ४ गुणासम्म नाफा कमाउँछन् ।
किसानले अहिले बन्दा र मुलामा प्रति किलो १० रुपैयाँ, आलु, गाँजर र काउली प्रति किलो ३० रुयैयाँ पाउँछन् । तर, व्यापारीले प्रति किलो ४ गुणासम्म फाइदा लिएर बेच्ने गरेको स्थानी किसान ईश्वरीप्रसाद भुसालले बताउनुभयो ।
वर्षभरि मिहेनत गरेर उत्पादन गरेको तरकारी बिचौलिया मोटाउने आधार मात्रै भएको किसानको गुनासो छ ।
वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी यो समस्या देशैभरिको समस्या रहेको हुनाले राज्य स्तरबाट स्थानीय उत्पादनलाई प्राथमिक्ता दिने कार्यक्रम चलाउनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ ।
विचौलियाका कारण तरकारीले मूल्य नपाएपछि चितवन र धादिङका किसानले खेतमै ट्रयाक्टर लगाएर तरकारी पुरेका थिए । पर्वतमा पनि अवस्था त्यस्तै रहेको किसानहरु बताउँछन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६, १४:२९