काठमाडौँ । महाधिवेशनको मिति नजिकिएसँगै नेपाली काँग्रेस, नेकपा एमाले लगायतका दलहरू महाधिवेशनमा लाग्ने खर्च व्यवस्थापनमा केन्द्रित भएका छन् ।
आगामी मंसिर १० गते सुरु हुन लागेको दसौँ महाधिवेशनमा एमालेले साढे ७ करोड खर्च लाग्ने अनुमान गरेको छ ।
यो रकम उठाउनका लागि एमालेले प्रत्येक सङ्गठित सदस्यबाट १ सय रुपैयाँ उठाउने अभियान सुरु गरेको महाधिवेशन व्यवस्थापन समितिका सदस्य तथा एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सीआईएनलाई जानकारी दिनुभयो ।
आगामी मंसिर २४ देखि काठमाडौँमा हुने १४ औँ महाधिवेशनको तयारीमा जुटेको नेपाली काँग्रेसले आर्थिक व्यवस्थापनको पाटोमा अनौपचारिक छलफल चलाए पनि औपचारिक रुपमा निणर्य गरिसकेको छैन ।
९ लाख भन्दा बढी क्रियाशिल सदस्य रहेको दावी गर्ने काँग्रेसले पार्टी सदस्यबाट उठेको रकम महाधिवेशनमा खर्च गर्ने रणनीति बनाएको छ । यसबारेमा भोलि बस्ने केन्द्रीय समितिको बैठकमा थप छलफल हुने सहमहामन्त्री प्रकाशरण महत्तले सीआईएनसँग बताउनुभयो ।
राप्रपा नेपालले पनि आगामी मंसिर ११ देखि गतेदेखि महाधिवेशन गर्दैछ ।
महाधिवेशनमा झण्डै तिन करोड खर्च लाग्ने अनुमान गरिएको र व्यवस्थापनका लागि काम भइरहेको महाधिवेशन प्रचार प्रसार समिति संयोजक मोहन श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८, ११:५५