काठमाडौँ । सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा अधिकतम ४६ प्रतिशतसम्म छुट दिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी मङ्सिर १ गतेबाट लागु हुने गरी देशभरका सामुदायिक रेडियोलाई सामुदायिक संस्थालाई दिइँदै आएको सुविधा अन्तर्गत विद्युत महशुलमा छुट दिइने बताउनुभयो ।
अमार्क एशिया प्यासिफिकसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले विपद्का समयमा रेडियोहरूले महत्वपूर्ण भूमिका खेल्दै आएको र आगामी दिनमा पनि त्यो भूमिकालाई निरन्तरता दिइनुपर्नेमा जोड दिनुभयो ।
गाउँघरदेखि सहरसम्म सबैभन्दा प्रभावकारी सञ्चारमाध्यम भएकाले सामुदायिक रेडियोलाई विद्युतमा ४२ देखि ४६ प्रतिशतसम्म छुट गर्ने निणर्य लिइएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अमार्कका उपाध्यक्ष मीनबहादुर शाहीले सामुदायिक रेडियो सबैको पहुँचमा पुग्ने भएकाले रेडियोको सङ्ख्या बढाउनु भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले विपद्का समयमा प्रयोग गर्न मिल्ने गरी विपद्बारे सूचना दिने निर्देशिका तयार गर्नु सबै रेडियोका लागि प्रभावकारी हुने सुझाव दिनुभयो ।
अकोराबका पूर्व अध्यक्ष तथा अर्माक एसिया प्यासेफिकका सहअध्यक्ष सुवास खतिवडाले विपद्बाट जनधनको क्षति कम गराउन सामुदायिक रेडियोले महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।
‘सामुदायिक रेडियो समुदायको विश्वास भएकाले विपद्का समयमा पूर्व तयारी गर्न सामुदायिक रेडियो अझैँ सक्रिय हुनुपर्ने अवस्था छ । २ वर्षको विद्युत महशुल मिनाहा गरौँ वा सेवामा सहकार्य गरेर जान पनि सकिन्छ ।’ खतिवडाले भन्नुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष अर्जुन गिरिले कोरोना महामारिका समयमा सामुदायिक रेडियोले ८५ प्रतिशतभन्दा बढी कार्यक्रम उत्पादन गरेको जानकारी दिनुभयो ।
सामुदायिक रेडियोलाई विद्युत महशुल छुट गर्ने निणर्य गरेको भन्दै उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई धन्यवाद दिनुभयो ।
विपद्को समयमा सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूणर् रहेको उल्लेख गर्दै विपद् पूर्व तयारीका लागि अकोराबले सामुदायिक रेडियोहरूलाई मौसम पूर्वानुमान महाशाखासँग सहकार्य गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
जल तथा मौसम विभागका उप महानिर्देशक कमलराज जोशीले ५० वर्षअघिदेखि नेपालमा मौसम पूर्वानुमान गर्न थालिएको जानकारी दिँदै अहिले हरेक बिहान ६ बजे ३ दिनको मौसम पूर्वानुमानको सूचना सार्वजनिक गर्ने गरेको उल्लेख गर्र्दै यो सूचनालाई देशभरमा पुर्याउनका लागि सामुदायिक रेडियो प्रभावकारी हुने टिप्पणी गर्नुभयो ।
७७ जिल्लाका नागरिकसम्म मौसम बारेको सूचना पठाउनका लागि नेपालका सामुदायिक रेडियोसँग सहकार्य गर्न आफूहरू तयार भएको उहाँको भनाइ छ ।
फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहालले सबैको पहुँचमा र सार्वजनिक सञ्चारमाध्यम भएकाले सामुदायिक रेडियोलाई सहयोग गर्नपर्ने सरकारको दायित्व हो भन्नुभयो ।
भूकम्प, बाढीपहिरो लगायतका विपद्मा सामुदायिक रेडियो प्रभावकारी हुने भएकाले राज्यले यसमा लगानी गर्नुपर्ने धारणा राख्दै विदेशमा सामुदायिक रेडियोले राज्यबाट प्राथमिकता पाउने अभ्यास भए पनि नेपालमा त्यसो हुननसकेको धारणा राख्नुभयो ।
कार्यक्रम बीबीसी नेपाली सेवाका प्रमुख जीतेन्द्र राउतले सामुदायिक रेडियोमा व्यापारिक मनसाय नहुने भएका कारण राज्यले सहयोग गर्नुपर्ने विचार राख्नुभयो ।
सञ्चारका बिभिन्न माध्यमको विकास भए पनि रेडियोको भूमिका र प्रभाव अझैँ पनि कम्जोर नभएको उहाँको भनाइ थियो ।
शेयरकास्टका मधु आचार्यले भूकम्प, कोरोना जस्ता महामारीका विषयमा सबैभन्दा बढी सूचना लिने माध्यम रेडियो भएको अध्ययनले देखाएको जानकारी दिनुभयो ।
उहाँले सामान्य अवस्थामा भन्दा सङ्कट वा पिपद्को समयमा रेडियो सुन्ने स्रोेताको सङ्ख्या बढ्ने भन्दै ७० प्रतिशत नागरिकले कोरोना भाइरसको बारेमा रेडियोबाट जानकारी लिएको बताएको आफ्नो अध्ययनको निष्कर्ष रहेको बताउनुभयो ।
कार्यक्रममा गिभ टु एसियाका सुरेश तामाङले विपदका समयमा बिजुली ठप्प हुँदा सूचना प्रवाह गर्ने सामुदायिक रेडियोहरू बन्द हुने गरेको बताउनुभयो ।
त्यस्तो अवस्थामा रेडियोको नियमित प्रसारण जारी राख्न सरोकारावाला निकायले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८, १०:०८