मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा २० घर जलेर नष्ट भएका छन् । मुख्य बजार क्षेत्रमा गएराति साढे १२ बजे लामा समुदायको बस्तीमा आगलागी भएको हो ।
टिनले लामाको घरमा बालिएको दियोबाट आगो सल्किँदा २० घर पूणर् रुपले नष्ट भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले आगलागी नियन्त्रणका लागि थप १ घर भत्काइएको सीआईएनलाई जानकारी दिनुभयो ।
एकआपसमा घरहरू जोडिएको र थप घरमा आगो नसल्कियोस् भनेर एक घर भत्काउनुपरेको उहाँको भनाइ छ ।
उहँँका अनुसार राति नै स्थानीयबासीले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएपछि बिहान साढे ४ बजे मात्रै आगलागी नियन्त्रणमा आएको हो ।
साँघुरो बाटो, काठबाट निर्मित कच्ची घरहरू एकअर्कासँग जोडिएको र दमकल पनि नभएका कारणले क्षति कम गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो ।
मानवीय क्षति नभए पनि कराडौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८, ११:३४