काठमाडौँ । नेपालमा गत वर्ष ९ लाख भन्दा बढी मेट्रिक टन दूध उत्पादन भएको पशु सेवा विभागले जनाएको छ ।
देशभर पालिएका ७४ लाख ५८ हजार भन्दा बढि गाईबाट गत आर्थिक वर्ष ९ लाख २० हजार ४ सय मेट्रिक टन दूध उत्पादन भएको हो ।
नेपालमा ७ प्रकारका स्थानीय जात र जर्सि, होलिस्टिन लगायतका उन्नत जातका गाई पाल्ने गरिएको छ ।
उत्पादित दूधको बजारिकरण गर्न तथा पशु पालक व्यवसायीहरूलाई थप प्रोत्साहन गर्न सहयोग गरिरहेको सिन्धुलिको कमलामाई नगरपालिका वडा नम्बर १ का प्रयागराज खतिवडाले बताउनुभयो ।
उहाँले ४५ वटा दुधालु गाइबाट दैनिक १ सय ५० लिटर दूध विक्री गर्दै आउनुभएको छ । सबैभन्दा बढि प्रदेश १ मा १९ लाख ८१ हजार बढि गाई पालिएका छन् । प्रदेश २ मा १२ लाख ४७ हजार, बागमती प्रदेशमा १० लाख ६४ हजार गाई छन् ।
लुम्बिनी प्रदेशमा ११ लाख ६२ हजार तथा सुदुरपश्चिम प्रदेशमा १० लाख १७ हजार, कर्णाली प्रदेशमा ५ लाख ४ हजार तथा गण्डकी प्रदेशमा ४ लाख ८१ हजार गाईपालन गरिएको छ ।
नेपालमै सबैभन्दा बढि मोरङ जिल्ल्लामा ४ लाख ७ हजार गाई छन् । जसबाट वार्षिक ७३ हजार मेट्रिक टन भन्दा बढि दुध उत्पादन हने गरेको छ ।
गाईपालनलाई प्रवद्र्धन गर्न स्थानीयदेखि केन्द्र सरकारसम्मले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
अधिकांश किसानले व्यवसायिक रुपमा गाईपालन गरेका दोलखामा तामाकोशी गाउँपालिकाले किसानलाई अनुदान दिएको वडा नम्बर ३ जफेका किसान योगराज पोखरेलले जानकारी दिनुभयो ।
तर अझैँ पनि उन्नत जातको गाईपालन र प्रवद्र्धनमा सरकारको ध्यान नपुगेको पशु प्रजनन विशेषज्ञ डाक्टर भूमिनन्द पोखरेलले बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने चालु आर्थिक वर्षमा स्थानीय तहमार्फत लागत साझेदारीमा गाई प्रवद्र्धन, निजी क्षेत्रसँगको साझेदारीमा गाई स्रोत केन्द्रको स्थापना तथा दुग्ध प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दैछ ।
उत्पादित दूधको बजार व्यवस्थापन र पशुपालक किसानलाई प्रोत्साहन गर्न सरकारले अझै काम गर्नुपर्ने किसानहरू बताउँछन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८, १२:०१