बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली बुटवलको जीतगढीमा भाषण गरीरहनु भएको थियो ।
सुरक्षाका लागि ५ तहको घेरा बनाइएको थियो । तर एक्कासी एक युवा पत्रकारहरु बसीरहेको स्थानतिर पुगेर नारा लगाउन थाले ।
हातमा कालो झण्डा बोकेर नारा लगाउने अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरे रहेको प्रहरीले पक्राउ गरेपछि मात्रै थाहा भएको छ । घिमिरे कोबाट परिचालित थिए भन्ने बारेमा भने खुल्न सकेको छैन ।
प्रतिबन्धमा परेको विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री लगायत अरु मन्त्रीलाई बहिस्कार गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरेको थियो ।
जितगढी विजयोत्सवमा मन्तव्य दिइरहेका बेला घिमिरेले नारा लगाउँदै कालो झण्डा देखाएपछि भाषण गर्दागर्दै रोकेर सुरक्षाकर्मीको ध्यानाकर्षण गराउनु भएको थियो । 'कालोझण्डा देखाइरहेको छ, प्रहरी कहाँ छ' प्रधानमन्त्रीले यसो भनेपछि प्रहरीले घिमिरेलाई नियन्त्रणमा लिएको थियो ।
‘जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन्’ भन्दै अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाए ।
कसैबाट परिचालित भएर झण्डा देखाउँदैमा केही नहुने प्रधानमन्त्रीले बताउनुभयो ।
कार्यक्रमस्थलमा नेपाल प्रहरी, शस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्रहरीले सुरक्षा दिएको थियो । कार्यक्रमका लागि १ सयभन्दा बढी स्वयंसेवक खटिएका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६, १५:२६