काठमाडौँ । देशरभरका सामुदायिक रेडियोले तिर्ने विद्युत महसुल घटेको छ ।
विद्युत नियमन आयोगका अनुसार गैरनाफामूलक उद्धेश्यले स्थापना भएका सामुदायिक रेडियोहरूले अब प्रतियुनिट ७ रुपैयाँ ८० पैसा तिर्नुपर्नेछ ।
यसअघि गैरव्यापारिक शीर्षकबाट प्रति युनिट १२ रुपैयाँ तिर्दै आएका रेडियोहरूलाई औद्योगिक वर्ग अन्तर्गत ग्रामीण एवम् घरेलु उद्योग अन्तमा राखिएको विद्युत नियमन आयोगका सदस्य एवम् प्रवक्ता डाक्टर रामप्रसाद धितालले सीआईएनसँग बताउनुभयो ।
यसअघि सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले सामुदायिक संस्था सरहको बिजुलीमा छुटको व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गर्दै आएको थियो ।
सामुदायिक रेडियोले तिर्ने विद्युत महसुल घटाउने निणर्य गरेकोमा अकोराबले आयोगका पदाधिकारी, ऊर्जा मन्त्री पम्फा भुसाल, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका सरोकारवाला निकायलाई धन्यवाद दिएको छ ।
अकोराबका अध्यक्ष अर्जुन गिरीद्वारा जारी विज्ञप्तिमा आफूहरूले उठाएको जस्तो सामुदायिक संस्थासरहको मान्यता नदिइए पनि यसअघि बिजुलीको खपतवापत चर्को मार खेपीरहेका सामुदायिक रेडियोलाई अहिलेको व्यवस्थाले राहत पुगेको उल्लेख गरिएको छ ।
बिजुलीमा सामुदायिक रेडियोलाई सामुदायिक संस्थासरहको छुट दिनुपर्ने आफूहरूको माग यथावत रहेको पनि अध्यक्ष गिरीले बताउनुभयो ।
बिजुली जस्तै टेलिफोनमा पनि छुट दिनका लागि अब सरोकारवाला निकायको ध्यान जाने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८, १०:५६