काठमाडौँ । सरकारले आउँदो माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निणर्य गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले माघ १२ गते राष्ट्रियसभाको २० सदस्यका लागि निर्वाचन गर्ने निणर्य गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले माघ ७ देखि १० गतेभित्र राष्ट्रियसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदै छ ।
पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाबाट कार्यकाल निर्धारण गरिएको थियो । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्यक दुई वर्षमा सकिन्छ भने एक तिहाइको पदावधि चार वर्ष हुने व्यवस्था छ ।
त्यही प्रावधान अनुसार २० जना सासंद्को पदावधि आउँदो फागुन २० गते सकिन लागेको हो ।
संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरे अनुसार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको हो ।
नेकपा एमालेका आठ, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका चार र नेपाली काँग्रेसका तीन जना सांसद्को पदावधि सकिन लागेको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८, ११:२७