काठमाडौँ । यातायात कार्यालयमा पर्याप्त जनशक्ति र आवश्यक पूर्वाधार नहुँदा नेपालमा करिव १२ लाख व्यक्तिले सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउन सकेका छैनन् ।
यातयात व्यवस्था विभागका अनुसार लाइसेन्स लिन फारम भरेका ६ लाख र परीक्षा उत्तीणर् गरेर पनि लाइसेन्स नपाएकाको सङ्ख्या ६ लाख रहेको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न गरिएको बन्दाबन्दी र स्मार्ट लाइसेन्स प्रिन्ट गर्नमा भएको ढिलाइका कारण लाइसेन्स लिनेको सङ्ख्या अत्यधिक देखिएको हो ।
यातयात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी डा. लोकनाथ भुसालले विभाग लगायत देशका बिभिन्न कार्यालयमा जनशक्ति र आवश्यक पूर्वाधारको अभावमा सवारी चालक अनु्मति पत्र वितरणमा ढिलाइ भएको बताउनुभयो ।
लाइसेन्स वितरण गर्ने कार्यालय थप, आवश्यक पूर्वाधारको व्यवस्था तथा जनशक्तिको व्यवस्थापनको जिम्मा प्रदेश सरकारको रहेकाले प्रदेश सरकार गम्भिर भएर लाग्नुपर्ने उहाँको भनाई छ ।
२०७८ बैशाख १६ गतेबाट बन्द गरिएको सवारी चालक अनुमति पत्रको अनलाईन आवेदन कात्तिक ८ गतेबाट सुरु गरिएको छ ।
आवेदन खुलेपनि ट्रायल सहितका परिक्षा दिन करिव १ वर्ष कुर्नुपरेको सेवाग्राहीको गुनासो छ ।
काठमाडौं उपत्यकाका ४ सहित देशभर २१ वटा यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र वितरण हुँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८, ११:३६