काठमाडौँ । नेकपा एमालेको दसौँ महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।
नारायणी नदी किनारमा महाधिवेशनको मध्यान्ह १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।
त्यसअघि चितवनको आँपटारी, बसपार्क, पुल्चोक, चौबीसकोठी, सहित करिव ८ स्थानबाट र्याली निकालिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सीआईएनसँग बताउनुभयो ।
महाधिवेशन प्रतिनिधिसहित करिब ५ लाख नेताकार्यकर्ता आज चितवनमा भेला हुने उहाँको दावी छ ।
उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालगायत विभिन्न राजनितिक दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम छ ।
महाधिवेशनको उद्घाटन सत्र अपरान्ह ४ बजे सम्म सकिने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
एमाले महाधिवेशनमा भारतका मुख्य ५ दलका गरी विभिन्न ४ मुलुकबाट विदेशी पाहुना चितवन पुग्ने नेता राजन भट्टराईले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा नजाने हुनुभएको छ ।
अध्यक्ष सहभागी नभए पनि पार्टीले एक जना माथिल्लो तहकै नेता पठाउने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सीआईएनसँग बताउनुभयो ।
एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भने बोलाएको छैन ।
नारायणी नदी किनारमा उद्घाटन सत्र समापन पश्चात चितवनको सौराहामा एमालेको महाधिवेशनको बन्दसत्र सुरु हुनेछ । एमालेको नयाँ नेतृत्वका लागि हाल सम्म उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
नेताहरू महेश बस्नेत र शेरधन राईले सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
नेकपा एमालेमा अध्यक्ष, ४ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिवसहित १३ जना मुख्य पदाधिकारी छन् ।
तर गत असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनले अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव गरी १५ पद रहने व्यवस्था गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८, ०८:१८