काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा देखिएको विवादका बारेमा सत्ता गठबन्धनमा छलफल गरेर केही दिनमै धारणा सार्वजनिक गरिने बताउननु भएको छ ।
नेपाल बार र सर्वोच्च बार एशोसिएसनको टोलीसँग आज भएको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयमा देखिएको विवादको विषयमा गठबन्धनमा रहेका दलसँग छलफल गरेर केही दिनमै निकास निकाल्ने आश्वासन दिनुभएको नेपाल बार एशोसिएसननका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
‘कानुन व्यवसायीले उठाएका विषयमा गठबन्धनका दलसँग छलफल गरेर केही दिनमै समाधान गर्ने आश्वासन प्रधानमन्त्रीले दिनुभएको छ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो । प्रधानमन्त्रीसँग प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा नै अन्तिम विकल्प भएको जानकारी गराएको श्रेष्ठले बताउनुभयो ।
संविधान बमोजिम प्रतिनिधिसभामा रहेका दलले गर्नुपर्ने भूमिकाको विषयसमेत प्रधानमन्त्रीसँग राखेको उहाँको भनाइ छ । प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवासायी एक महिनादेखि आन्दोलित छन् ।
भेटमा बारले प्रधानमन्त्री देउवालाई आफ्नो अवधारणापत्रसमेत बुझाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८, १३:२४