काठमाडौँ । अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा वालबालिकाहरूले प्रार्थन गरेका छन् ।
दिवसको अवसरमा ललितपुरमा सम्पन्न भएको कार्यक्रममा हिन्दु, बौद्ध, इसाइ, क्रिष्टियन आदि धर्मका बालबालिकाहरूले छुट्टाछुट्टै प्राथना गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बिभिन्न धर्मका अगुवा तथा गुरुहरूले आफ्ना धर्म ग्रन्थमा बालबालिकाहरूप्रति कुनै प्रकारको हिंसा नभएको र आफूहरू हिंसा र विभेदरहित समाज निर्माणमा जुट्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बाही धर्मका अगुवा डा. नरेन्द्र पाण्डेले जुनसुकै धर्मका बालबालिकालाई प्राथनाको महत्व बताउँदै दैनिक प्राथना गर्न सिकाउनुपर्ने बताउनुभयो ।
बौद्ध भिक्षु धर्ममुर्तिले बौद्ध धर्मले बालबालिकालाई हिंसा नगर्न र हिंसाबाट बच्न सिकाएको धारणा राख्नुभयो ।
कार्यक्रममा निरन नेपालका अध्यक्ष हर्स थापाले बालवालिकालाई अनुशासित बनाउन धर्म गुरुहरूको ठूलो भूमिका हुने भएकाले धर्मगुरु र बालबालिकालाई एकै ठाउमा राखेर अन्तरक्रिया गरेको जानकारी दिनुभयो ।
हिन्दु धर्मगुरु अच्युत सुवेदीले संस्कारका नाममा भएका विकृतिको अन्त्यको लागि आफूहरु निरन्तर खटिरहने प्रतिबद्धता जनाउनुभयो ।
किरात धर्मगुरु तिर्थ गुरुङले आफ्नो धर्ममा बालिकाहरूमाथि कुनै प्रकारको हिंसा नभएको र बालबालिकालाई फूल समान सबैले हेर्नुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित, सामुदायिक सूचना नेटवर्क (सीआईएन) का व्यवस्थापक दीपक आचार्यले हानिकारक परम्परागत अभ्यासहरूको अन्त्य गर्न र सामाजिक रुपान्तरणका लागि धार्मिक अगुवाहरूलाई जिम्मेवार बनाउन यस्ता चेतनामुलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।
विकास र परिवर्तनको क्षेत्रमा काम गर्नेहरूले अब धर्मगुरुलाई पनि परिवर्तनको संवाहकको रुपमा लिएर कार्यक्रम गर्नुपर्ने उहाँले सुझाव पनि दिनुभयो ।
निरन नेपालका व्यवस्थापक नहिदा बानुले मानिसले धर्मका नाममा भइरहेका कुरिति, कुसंस्कार त्याग्नको लागि धर्मगुरुले नै सहयोग गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित बिभिन्न धर्मका अगुवाहरूले बालबालिकाहरूले सोधेको प्रश्नको जबाफ दिएका थिए ।
वर्ल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा निरन नेपालको आयोजना, अकोराब र सीआईएनको संयोजनमा कार्यक्रम भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८, १४:४६