काठमाडौँ । सहमतिबाटै नेतृत्व चयन गर्ने रणनीति अनुसार नेकपा एमालेले पार्टीको विधान संसोधन गरी पदाधिकारीको सङ्ख्या बढाउने निणर्य गरेको छ ।
गएराति चितवनको सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको विधान संसोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बनाएको भए पनि गएरातिको बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीसँगै पदाधिकारी सङ्ख्या बढाउने प्रस्ताव राख्नुभएको थियो ।
बैठकमा भएको सहमति अनुसार अब एमालेको कन्द्रीय कमिटीको आकार ३ सय १ सदस्यीय बन्ने, १५ सदस्यीय पदाधिकारी रहने यसअघिको व्यवस्थालाई परिवर्तन गरी १९ सदस्यीय बनाउने, ९९ जना पोलिटब्यूरो र ४५ जना स्थायी कमिटी सदस्यको रुपमा रहने एमाले नेता विष्णु रिजालले सीआईएनलाई जानकारी दिनुभयो ।
एकै पदमा तीन पटकसम्म उम्मेदवार बन्न पाउने प्रस्ताव पनि सौराहा बैठकले पारित गरेको छ । यसअघि एमालेले दुई पटकसम्म मात्रै उठ्न पाउने व्यवस्था गरेको थियो ।
दसौँ महाधिवेशन अन्तर्गत आज चितवनको सौराहामा बन्द सत्र सुरु हुनेछ । महाधिवेशनका उद्घाटन शत्रलाइ हिजो सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनाबबाट आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभयो ।
महाधिवेशनलाइ सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताउनुभयो ।
महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकता अनिवार्य आवश्यकता भएको बताउनुभयो ।
जनता समाजवादी पार्टी का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता महन्ठ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताले पनि एमाले महाधिवेशनको शुभकामना दिनुभएको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८, ०७:१४