काठमाडौँ । माओवादी केन्द्रले आजदेखि पालिकास्तरको सम्मेलन गर्दैछ ।
आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको माओवादी केन्द्रले पूर्वनिर्धारित तालिका अनुसार आज ७ सय ५३ वटै पालिकामा सम्मेलन गर्न लागेको हो ।
पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले यही मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गर्ने बताएको छ । पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि वढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ ।
सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।
माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रीत हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ ।
पार्टीले विधानको व्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ ।
पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८, १०:०३