काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।
सम्मेलनको तयारीस्वरुप माओवादी केन्द्रले सेल, टोल र वडा सम्मेलन सकेको छ भने पालिका तहको सम्मेलन सुरु गर्दैछ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई लक्षित सङ्गठन निमाणर् र कार्यकर्ता परिचालनमा पनि जोड दिएको छ ।
निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटीको नारा लिएको माओवादी केन्द्र अहिले सङ्गठन निर्माणको अभियानामा लागेको छ ।
माओवादी केन्द्रका नेताहरु वडा, पालिकादेखि जिल्ला र केन्द्रसम्मका जनवर्गिय सङ्गठन सुदृढीकरणको काममा केन्द्रीत भएका छन् ।
अखिल नेपाल किसान महासङ्घ ( क्रान्तिकारी) केन्द्रका अध्यक्ष चित्रबहादुर श्रेष्ठ पार्टीको निर्देशन अनुसार सङ्गठनका विभिन्न कमिटीहरूलाई पुनर्जागरण गराउने काम भइरहेको बताउनुहुन्छ ।
सङ्गठन निर्माणका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू नै देश दौडाहमा छन् ।
किसान, महिला, युवा, विद्यार्थी, लगायत गरि ४५ वटा जनवर्गिय सङगठन भएको माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन अघि नै सम्मेलन सकिसक्न निर्देशन दिएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताउनुभयो ।
एमालेसहितको नेकपा विभाजनपछि बिग्रिएको पार्टी सङ्गठनलाई स्वरुप दिनको लागि तल्लो तहदेखिनै काम गरिरहेको अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष अमृता थापाको भनाइ छ ।
वर्तमान पार्टी संरचनाले पार्टी कार्यकर्तालाई एकिकृत गर्न सहज हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले बताउनुभयो ।
आगामी चुनाव पनि नजिकदै गएको र चुनावमा आफ्नो उपस्थिति बलियो बनाउनु चुनौतीपूणर् भएकाले पनि माओवादी हाल सङ्गठन विस्तारमा केन्द्रीत बनेको छ ।
माओवादी केन्द्रका नेता दीनानाथ शर्मा पार्टी सङ्गठनलाई बलियो बनाउन र पार्टीलाई जनतासँग जोड्ने गरि काम भइरहेको बताउनुहुन्छ ।
झण्डै ८ लाख पार्टी सदस्य रहेको दाबी गर्ने माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा झण्डै १७ सय प्रतिनिधि सहभागी हुने जनाएको छ ।
माओवादी चुनाव केन्द्रीत भएर सङ्गठन विस्तारको रणनीतिमा लागेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८, १०:१५