सोलुखुम्बु । सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल गुल्म सोलुखुम्बुलाई आफ्नै भवन नहुँदा समस्या भएको छ ।
करिब ४ बर्षअघि जिल्लामा स्थापना भएको सशस्त्र प्रहरीको आफ्नै भवन नहुँदा सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुस्थित तत्कालीन महिला विकास समितिको साँघुरो भवनमा कोचिएर बस्नुपरेको छ ।
सोलुखुम्बुमा वि.स २०७४ सालमा निर्वाचन सुरक्षा बेस हुँदै हाल गुल्मको रुपमा सञ्चालनमा आएको सशस्त्र प्रहरी बल नेपाल गुल्म सोलुखुम्बुले जनाएको छ ।
सुरुवातमा सल्लेरीस्थित कर्भड हलमा बसेको सशस्त्र प्रहरी करिब ३ वर्ष अघि दोर्पुस्थित तत्कालीन महिला विकास समितिले एक रोपनी जग्गामा निर्माण गरेको भवनमा सरेको थियो ।
तर मापदण्ड अनुसार भवन तथा जमिन नहुँदा दैनिक कार्यलाई खुम्च्याउनु परेकोे सशस्त्र प्रहरीका डिएसपी दीनेश शर्माले बताउँनुभयो ।
उहाँका अनुसार मापदण्ड अनुसार कम्तिमा १५ रोपनी जग्गा आवश्यक पर्ने भए पनि हाल एक रोपनी जग्गामा खुम्चनु परेको छ ।
वि.सं २०७५ मा स्थापना भएको उक्त गुल्ममा कुल दरबन्दी १२० जना कायम भए पनि ठाउँ अभावका तथा दरबन्दी ब्यवस्थापन गर्न नसक्दा हाल करिब ७० जना मात्रै रहेको कार्यालयले जनाएको छ ।
जिल्ला विपद् प्रतिकार्यदेखि शान्ति सुरक्षाका अधिकाङ्श कार्यमा सशस्त्र प्रहरी खटिँदै आए पनि आफ्नो भवन नहुँदा उनीहरूलाई दैनिक कार्यसम्पादनमा समस्या हुँदै आएको छ ।
ाफ्नो भवन नभएका कारण आन्तरिक तालिमदेखि अन्य पिटी, परेडसम्म गर्न समस्या भएको डिएसपी शर्माले बताउँनुभयो ।
किन बन्न सकेन सोलुखुम्बु सशस्त्र प्रहरीको भवन ?
अधिकांश सरकारी कार्यालयहरुको भवन निर्माण गर्दा नेपाल सरकारले जग्गा खरिदका लागि बजेट व्यवस्थापन गरेको उदाहरण कमै मात्रामा छ ।
स्थानीयबासीबाट निशुल्क जग्गा उपलब्ध गराउने र त्यो सम्भवन भएन भने मात्रै अत्यन्त कम मूल्यमा पायक पर्ने स्थानमा जग्गा खरिद गर्ने परिपाटी जिल्लामा छ ।
सशस्त्र प्रहरीको मापदण्ड अनुसार भवन तथा प्रहरीलाई आवश्यक अन्य संरचना निर्माण गर्न कम्तिमा १५ रोपनी जग्गा आवश्यक पर्दछ । तर सोलुखुम्बु सशस्त्र प्रहरीको सवालमा २/४ रोपनी जग्गा निशुल्क उपलब्ध गराउने स्थानीय भए पनि प्रहरीलाई त्यो पर्याप्त भएन ।
प्रधान कार्यालयको नीति अनुसार अत्यन्त कम मूल्यमा पायक पर्ने स्थानमा जग्गा उपलब्ध नहुँदा समस्या भएको बुझिएको छ ।
भवन निर्माणका लागि प्रधान कार्यालयले बजेट ब्यवस्थापन गर्ने भए पनि जग्गा नै उपलब्ध हुन नसक्दा नागरिकको जीउधनको सुरक्षामा तल्लिन सशस्त्र प्रहरी साँघुरो ठाउँमा बस्न बाध्य भएको हो ।
जिल्ला सुरक्षा समितिले छलफल गरी जग्गा तथा भवन ब्यवस्थापनका लागि प्रधान कार्यालयलाई पत्रचार भने गरिसकेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८, ११:३२