काठमाडौँ । स्वास्थ्य सुविधाबाट वञ्चित काभ्रेको तेमाल गाउँपालिका ६ ठूलो पर्सेलमा चाँडै स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
आर्थिक अभाव र पायकपर्ने ठाउँमा सुविधासम्पन्न स्वास्थ्य संस्था नभएका कारण त्यहाँका नागरिकले स्वास्थ्य जाँच, औषधोपचार लगायतमा ध्यान दिन नपाएको गुनासो सीआईएनको साप्ताहिक कार्यक्रम 'जीवनरक्षा' मा राखेका थिए ।
ठूलो पर्सेलका नागरिकको स्वास्थ्य समस्याको बारेमा जानकारी पाएपछि काभ्रे क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गङ्गाबहादुर दोङले तेमाल गाउँपालिका र वडा नम्बर ६ का अध्यक्षसँग समन्वय गरी स्वास्थ्य शिविर चलाउने मिति तोक्ने सीआईएनसँग बताउनुभयो ।
सांसद तामाङले ठूलो पर्सेल लगायत तेमाल तथा अरु क्षेत्रमा पनि स्वास्थ्य शिविर चलाउनका लागि आफूले जुनसुकै सहयोग गर्ने जानकारी गराउनुभयो ।
‘अबको एक महिनाभित्र ठूलो पर्सेलमा स्वास्थ्य शिविर चलाउने गरी समन्वय गर्छु । एकदुई दिनमा हामी निणर्यमा पुग्छौँ ।’ तामाङले भन्नुभयो ।
आईएनसँग कुराकानी गर्दै काभ्रेको धुलिखेल अस्पतालका सामुदायिक तथा जनस्वास्थ्य निर्देशक डा विराज कर्माचार्यले काभ्रेको ठूलो पर्सेलमा स्वास्थ्य शिविर चलाउन आफूहरूले पनि अग्रसरता लिने बताउनुभयो ।
शिविर चलाउनका लागि कम्तिमा पनि दुई हप्ता समय लाग्ने उहाँको भनाइ छ ।
‘काभ्रेको दुर्गम गाउँको समस्याका बारेमा उजागर गरिदिएकोमा सीआईएन र स्थानीय सामुदायिक रेडियोलाई पनि धन्यवाद । हामीले सिन्धुपाल्चोक लगायत बिभिन्न जिल्लामा पनि यस्ता शिविर चलाउँदै आएका छौँ ।’ डा कर्माचार्यले भन्नुभयो ।
स्थानीय सरकार र सांसदसँग हुने छलफलबाट स्वास्थ्य शिविर हुने मितिको टुङ्गो लाग्ने डा कर्माचार्यले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविर पर्खँदै काभ्रेको'घुँडा दुख्ने'गाउँ
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८, ११:१८