काठमाडौँ । नेकपामा एमालेको दसौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज बिहान ४ बजेबाट मतदान सुरु भएको छ ।
अध्यक्ष पद्को प्रतिस्पर्धामा रहनुभएका केपी शर्मा ओलीले सुरुमा मतदान गर्नुभएको एमाले नेता तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान सुरु भएको छ र मतदान सकिएको केही घण्टाभित्रै नतिजा आउने छ ।
मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष पदका प्रतिस्पर्धी नेता भीम रावलले सदस्य नविकरण, वितरण र प्रतिनिधि प्रतिनिधि चयनमा गलत काम भएको दावी गर्दै निर्वाचनको परिणामलाई स्वीकार गर्ने बताउनुभयो ।
मतदानमा सहभागी महाधिवेशन प्रतिनिधिहरूलाई अध्यक्षका प्रतिस्पर्धी ओली पक्षका नेताकार्यकर्ताले अर्का प्रतिस्पर्धी भीम रावल लगायत उहाँको पक्षका उम्मेदवारलाई भोट नहाल्न भन्दै पर्चा वितरण गरेका छन् ।
अध्यक्षमा ओली र रावल उम्मेदवार हुनुहुन्छ भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।
सात सचिवका लागि गोकणर् विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट प्रतिस्पर्धामा हुनुहुन्छ ।
केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । बिहान ८ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन समितिका संयोजक डा विजय सुब्बाले जानकारी दिनुभयो ।
बिहान २ बजेदेखि मतदान सुरु हुने पछिल्लो कार्यतालिकामा उल्लेख भए पनि २ घण्टा ढिलो मतदान सुरु गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८, ०७:१६