काठमाडौँ । चिसो मौसममा घर पालुवा पशुपन्छीमा श्वासप्रश्वासको समस्या बढ्ने भएका कारण ख्याल राख्न चिकित्कहरूले सुझाव दिएका छन् ।
चिसो मौसममा घरपालुवा जनावरलाई विशेष गरी श्वासप्रश्वास सम्बन्धी समस्या देखिने पशु चिकित्सकहरू बताउँछन् ।
खुर भएका पशुहरूलाई खोरेत रोग लाग्छ जो अहिले देशका विभिन्न स्थानमा देखिन थालेको छ ।
ज्वरो आउने, र्याल चुहाउने, मुख र खुरको काप साथै थुतुनो र थुनमा पानी जस्तो तरल पदार्थ भरिएको सानासाना फोकाहरू आउने खोरेत रोगका लक्षण हुन् ।
तनहुँको बन्दिपूर गाउँपालिका स्थित ५० वटा गाई पालिएको फार्ममा यो रोग देखापरेपछि किसान पुष्प पौडेल चिन्तित हुनुहुन्छ ।
२६ वर्षअघिबाट गाइपालन गर्दै आउनुभएका पौडेलले आफूले पालेका गाईलाई खोरेत रोगविरुद्धको खोप लगाउँदै आउनुभएको थियो ।
गत वर्षबाट स्थानीय तहले निशुल्क खोप लगाइदिन सुरु गरेको थियो ।
यसवर्ष खोप कुर्दाकुर्दै एउटा बाच्छीमा खोरेत रोगको सङ्क्रमण देखिएको पौडेलले सीआइएनलाई बताउनुभयो ।
यस्ता रोगको अरु मौसममा पनि उत्तिकै जोखिम भए पनि जाडोको समयमा झन् बढी हुने गरेको छ ।
गाइ, भैँसी, बाख्रा, कुखुरामा बिभिन्न किसिमका स्वास्थ्य समस्या चिसो मौसममा देखिन सक्छ ।
पशु सेवा विभागका अनुसार पीपीआर रोगका कारण नेपालमा बर्सेनि धेरै सङ्ख्यामा भेडाबाख्रा मर्ने गरेका छन् । व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएका दोलखाको कालिन्चोक वडा नम्बर ८ का प्रेम बस्नेतको गतवर्ष करिव ४० बाख्रा मरे ।
पीपीआर रोगको सङ्क्रमण भएपछि उहाँले पाल्नुभएका सबै बाख्रा मर्दा करिव ४ लाख रुपैयाँ बराबरको क्षति व्यहोर्नुपर्यो ।
बस्नेतले भन्नुभयो “मेरो मात्रै होइन, गाउँका करिब ८० घरमा पालिएका बाख्रा मरे, यो रोग दोलखा जिल्लाभर फैलियो ।”
समयमै पीपीआर रोगविरुद्धको खोप उपलब्ध नहँुदा यति ठूलो क्षति भएको उहाँको भनाइ छ ।
चिसो मौसममा कुखुरामा धेरै जसो रानीखेत रोग देखिने गरेको छ । यो रोग लागेपछि कुखुरामा टाउको झट्काउने, घाँटी तान्ने, सिउर र लोती पहेँलो हुने तथा पछि नीलो रङमा बदलिने लगायतका लक्षण देखिन्छ ।
रोग लागेर पालिएका सबै कुखुरा मरेपछि ललितपुर बुङ्मतीका मीरा शाहले कुखुरापालन नै छोडेको बताउनुभयो ।
मीराले थप्नुभयो, “लोकल कुखुरा पालेको थिएँ, गएको चैतमा खोरमा भएका ५ सय कुखुरा एक साताभित्र मरे । अहिले कुखुरापालन गरेको छैन ।”
पशुपन्छीमा देखिने यस्तो समस्या गर्मी र जाडो दुबै मौसममा देखिने भए पनि जाडोमा झन् बढ्ने भएकाले किसानले विशेष सावधानी अपनाउनुपर्ने केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका डा नवराज श्रेष्ठले बताउनुभयो ।
डा श्रेष्ठले भन्नुभयो “जाडोमा लाग्ने रोगबाट जोगाउन खोर, गोठको व्यवस्थापन राम्रोसँग गर्नुपर्छ, चिसो बढि हुँदा गोठमा धुवाँ लगाइदिने चलन हुन्छ तर पुरै धुवाँ गोठभित्रै गुम्स्याउन हुँदैन ।”
चिसो मौसममा पनि पशुपन्छीलाई साविकको जस्तै पानी दिनुपर्ने, घाँस दाना नियमित खुवाउनुपर्ने डा श्रेष्ठको सुझाव छ ।
चिसो मौसममा पशुपन्छीमा देखिने यस्तो रोगबाट बचाउन किसानले स्थानीय सरकारसँगको समन्वयमा पशुपन्छीलाइ खोप लगाइदिन सक्छन् ।
बिभिन्न रोगका कारण नेपालमा बर्सेनि करिब ५ प्रतिशत पशु तथा १० प्रतिशत पन्छीहरू मर्ने गरेको भए पनि पशुपन्छी जोगाउने बारेमा किसानहरूले पर्याप्त ज्ञान र सरकारी सहयोग भने पाएका छैनन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८, १४:५०