काठमाण्डौँ । देशभर हालसम्म ४३ प्रतिशत नागरिकले खोप लगाएका छन् ।
बीचमा कोरोना खोपको अभियान केही सुस्ताएको जस्तो देखिए पनि छठपछि दैनिक लगभग २ लाख मानिसले कोरोनाविरुद्धको खोप लगाइरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा सागर दाहालले बताउनुभयो ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, युनिसेफ नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले ललितपुरमा आयोजना गरेको ‘कोरोनाविरुद्धको खोप र सञ्चारमाध्यमको भूमिका’ विषयक छलफलमा डा दाहालले अझैँ पनि ४७ लाख नागरिकलाई खोप लगाउन बाँकी रहेको जानकारी दिनुभयो ।
धेरैभन्दा धेरै नागरिकलाई खोप अभियानमा जोड्नको लागि प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले आफूहरूले जनप्रतिनिधिसँग चरणचरणमा छलफल गरिरहेको उहाँको भनाइ छ ।
छलफल कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेशनल प्रोफेसनल अफिसर डा.राहुल प्रधानले खोपको आवश्यकता, नलगाए हुने अफ्ठेरो र सहजताको बारेमा सञ्चारमाध्यमले सूचना सञ्चार गराउनुपर्नेमा जोड दिनुभयो ।
आफ्नो प्रस्तुति राख्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेशनल प्रोफेसनल अफिसर डा.राहुल प्रधान । फेरि पनि कोरोनाको नयाँ स्वरुप ‘ओमिक्रोन’ फैलन लागेको सन्दर्भमा खोप नै आजको मुख्य आशा भएको डा प्रधानको भनाइ थियो ।
कार्यक्रममा सञ्चारकर्मीहरूले खोप र भ्रमको बारेमा नयाँनयाँ सूचना प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसको लागि सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
पत्रकार ऋषि धमलाले स्वास्थ्य संस्थामा खोप बाँकी रहनु तर खोप लगाउन नागरिक नजानु दुःखद पक्ष भएको भन्दै खोप अभियानलाई राजनीतिक दलका नेता, कार्यकर्ता र सरकारले नै गम्भीरतापूर्वक लिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा विचार राख्दै पत्रकार ऋषि धमला । राजनितिक दलको महाधिवेशन होस् वा अन्य कुनै पनि कार्यक्रममा नेताहरूले पनि आफ्नो कार्यकर्तालाई तपाईँले खोप लगाउनुभयो ? भनेर सोध्नुपर्ने र बारम्बार खोपको बारेमा झकझक्याउनुपर्ने पत्रकार धमलाको भनाइ थियो ।
पत्रकार गोपाल गुरागाईँले पहिलो मात्रामा खोप लगाएकामध्ये केही दोस्रो मात्रा लगाउन छुटेको, खोपको महत्वको बारेमा अझै पनि नागरिकलाई जानकारी हुन नसकेको भन्दै सञ्चारमाध्यमका साथमा सरकारले पनि यसमा ध्यान पुर्याउनुपर्ने सुझाव दिनुभयो ।
पत्रकार गोपाल गुरागाईँ । कार्यक्रममा सामुदायिक सूचना नेटवर्क (सीआईएन) का व्यवस्थापक दीपक आचार्यले कोरोनाविरुद्धको खोप लगाउने विषयलाई घरदैलो अभियानका रुपमा अघि बढाउन सुझाव दिनुभयो ।
पत्रकार जगदिश खरेलले कोरोना, कोरोनाविरुद्धको खोपको बारेमा बनाइएका सूचना र जानकारीहरू पूरानो ढर्राको भएको भन्दै नागरिकलाई आक्षित बनाउने र सूचना फैलाउन सजिलो हुने खालका निर्माण गरेर प्रसारण गर्न सरकारलाइ सुझाव दिनुभयो ।
पत्रकार जगदिश खरेल । पालिकास्तरमा खोप लगाउँदा नागरिकको पाएकमा नपर्ने भएकाले यसलाई वडा वा टोल तहसम्म पुर्याउनु आवश्यक रहेको अरु पत्रकारहरूको सुझाव थियो ।
छलफलका क्रममा खोप शाखा प्रमुख डा. दाहालले आफूहरू चैत मसान्तसम्ममा सबैलाई खोप दिने गरी गरिरहेको बताउनुभएको थियो ।
परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लाल कर्णले खोप अभियानलाई प्रभावकारी बनाउनको लागि ७ सय ५३ ओटै स्थानीय तहलाई आग्रह गरेको र उनीहरूसँग सम्मन्वय गरिरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहाल । राष्ट्रिय शिक्षा सूचना तथा केन्द्रका निर्देशक सुनिलराज शर्माले अब खोप लगाउने विषयमा वृहत रुपमा र तल्लो तहसम्ममा पुगेर छलफल चलाउनु आवश्यक रहेको बताउनुभयो ।
नागरिकलाइ दैनिक रूपमा सूचना प्रवाह गर्ने जिम्मा सञ्चारमाध्यमको रहेकाले कोरोनाविरुद्धको खोपका बारेमा चेतना जगाउन निरन्तर सहयोग गरिदिन शर्माले सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।
डा. दाहालले हरेक वर्ष जन्मने बालबालिकाको लागि दिइने नियमित खोपको लागि देशभर १६ हजार खोप केन्द्र रहेको तर करोडौँलाई लगाउनुपर्ने कोरोनाविरुद्धको खोपको केन्द्र भने लगभग ७ हजार मात्रै रहेको जानकारी दिँदै यसलाई बढाउने बारेमा छलफल भइरहेको पनि बताउनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष अर्जुन गिरीले कोरोनाविरुद्धको खोपको प्रभावकारीता बारे सामुदायिक रेडियोले निरन्तर सूचना प्रवाह गरिरहेको र आगामी दिनमा पनि सरकार अनि सरोकारवाला निकायसँगको सम्मन्वयमा सूचना प्रवाह गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष अर्जुन गिरी . युनिसेफका सञ्चार प्रमुख सञ्जु भट्टराईले सञ्चारमाध्यम नागरिकको सहज पहुँचमा रहेको र यसले खोप, प्रभावकारिता र आवश्यकताको बारेमा बुझाउन सक्ने भएकाले सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने टिप्पणी गर्नुभयो ।
सबै पक्षको सहयोग र सम्मन्वयमा मात्रै खोप अभियानालाई तीव्रता दिन सकिने भएकाले सबैको सहकार्य जरुरी रहेको उहाँको भनाइ थियो ।
देशभर खोप अभियान जारी रहेको भए पनि प्रदेश २ मा सबैभन्दा कम नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । बागमती प्रदेशमा भने सबैभनदा धेरै नागरिकले खोप लगाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप लगाएका मध्ये बागमती प्रदेशमा ६८ प्रतिशत र प्रदेश २ मा ३० प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८, १५:३६