काठमाडौँ । राप्रपा नेपालका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको जारी महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रतर्फ सङ्केत गर्दै निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ ।
आगामी अध्यक्षका प्रतिस्पर्धीसमेत रहनुभएका नेता थापाले पराजित भएपछि सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै यस्तो आरोप लगाउनुभएको हो ।
'पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्तसना गर्दछु। मैले राहत र उन्मुक्ति पाएको छु।' थापाले पूर्वराजा ज्ञानेन्द्रलाई ट्विटरमा व्यङ्ग्य गर्दै बधाई दिनुभएको छ ।
सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कारस्वरुप चुनावमा पराजित गराइएको नेता थापाको भनाइ छ । 'एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।' उहाँले थप्नु भएको छ ।
प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय भने सहर्ष स्वीकार गरेको थापाले उल्लेख गर्नु भएको छ ।
'प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना। प्रतिकुल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।' थापाले अर्को ट्विटमा लेख्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८, ०८:२०