रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा दलित परिवारको विवाहमा आएका गैरदलित समुदायले भोज नखाई फर्केपछि पीडित परिवारले दक्षिणा वापतको रकम फिर्ता गरेका छन् ।
शुद्धोधन गाउँपालिका वडा नम्बर ४ फर्साटिकर हाटबजार निवासि रामबहादुर विकको छोरी २२ बर्षिय आरती विकको विवाहमा आएका गैरदलित समुदायले भोजमा सहभागी नभएपछि दलित परिवारले दक्षिण फिर्ता गरिदिएका हुन् ।
बैशाख ५ गते आरतीको सुनवल असामबासी टोलका रमेश रसाईलीसँग विवाह भएको थियो ।
उक्त विवाहमा निम्ता स्वीकार गरेर आएका २२ जना गैरदलितले जातकै कारण भोजमा सहभागी नभई दक्षिणा मात्रै बुझाएर फर्केकाले आफूहरुलाई अपमान भएको भन्दै आईतबार शुद्धोधन वडा नम्बर ४ का वडाअध्यक्ष राजेन्द्र कंडेलाई दक्षिणा वापतको रकम बुझाएका छन् ।
आफूहरुलाई दलित भएकै कारण भेदभाव गरेकाले चन्दा जस्तो गरि दिएको रकम फिर्ता गरिएको बेहुलीका वुवा रामबहादुर विकले बताउनुभयो ।
समाजकै अगुवा मानिएकाहरुलाई भोजमा सरिक हुन आग्रह गर्दा पनि विभिन्न वाहना बनाएर दक्षिणा दिएर फर्केपछि २२ जनाबाट संकलन भएको ६ हजार ३ सय ५० रुपैयाँ वडा अध्यक्ष मार्फत फिर्ता गरेको वेहुलीका काका होमबहादुर विकले बताउनुभयो ।
भोजमा सरिक नहुनेमा नेपाली काँग्रेस रुपन्देहीका क्षेत्रिय सदस्य केशव अधिकारी, आमा समूहकी अध्यक्ष रसमायाँ थापा, टोल विकास समितिका उपाध्यक्ष बालकृष्ण गैरे, आशिष केसी, डिआर कंडेल, गोकुल सुवेदी, कृष्ण प्रसाद भण्डारी गिता खनाल, चित्र बहादुर केसी, इन्दिरा डोटेलसहित २२ जना छन् ।
वडाअध्यक्ष राजेन्द्र कंडेलले जातको आधारमा छुवाछुत गर्ने कार्य स्वीकार्य नहुने भन्दै दुवै पक्षलाई राखेर गाउँपालिकाले छलफल गर्ने बताउनुभयो ।
यो घटनाले विक्षिप्त बनाएको सोही गाउँका दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष पदम विश्वकर्मा बताउनुभयो । जातीय छुवाछुत भेदभाव र कसुर सजाय ऐन २०६८ अनुसार जातकै कारण भेदभाव गर्नेलाई क्षतिपूर्ती भराउनेदेखि कैद फैसला गर्ने व्यवस्था छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६, १५:२५