काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज साँझ ५ बजेसम्म मतदान हुने भएको छ ।
आज बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि करिब ४ घण्टा ढिला मतदान थालिएको हो ।
एक सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री मतदानबाट निर्वाचित हुनेछन् ।
मतदानका लागि ४ हजार ७४३ जना प्रतिनिधिको नामावली सार्वजनिक भएको छ ।
राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गरिरहेका छन् ।
प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको आँगनमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८, १३:३४