काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको मतदानको हालसम्मको गणनामा सभापतिको पदमा वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिनु भएको छ ।
२५ सय मत गन्दा देउवाले ४९ दशम्लव १९, सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ४३ प्रतिशत मत पाउनुभएको काँग्रेस निर्वाचन समितिका सदस्य केशव रिजालले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार सभापतिमा प्रकाशमान सिंहले तेस्रो नम्बरमा पछ्याइरहनुभएको छ ।
गएराति साढे ११ बजे मतदान सकिएको थियो भने बिहान साढे ४ बजेबाट गणना सुरु गरिएको छ ।
कांग्रेसको विधान अनुसार सभापतिका उम्मेदवारले कुल खसेको मतको बहुमत ल्याउनुपर्छ ।
गएराति सकिएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिमा जित्न २३ सय ४० मत ल्याउनुपर्छ । ६५ मत भने नखसेको निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८, ०६:५५