काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाका मैया परियारलाई नागरिकता लिन समस्या भएको छ ।
नेपाल सरकारले १६ वर्ष पुगेपछि नेपाली नागरिकलाई नागरिकता दिने गरे पनि ५१ वर्ष पुग्दा पनि आफू नागरिकताविहीन हुनुपरेको परियारले गुनासो गर्नुभयो ।
३० वर्षअघि विवाह गर्नुभएका उहाँ ६ वर्षपछि श्रीमान र परिवारबाट अलग हुनुभएको थियो । माइती घरमा बुबाआमा बितिसकेको र बिहे गरेको घरको कुनै अत्तोपत्तो नहुँदा समस्या भएको हो ।
शारीरिक रूपमा कम्जोर उहाँले दैनिकी चलाउन अरुको घरमा काम गर्न थालेको करिब १० वर्ष भएको छ ।
नागरिकता नहुँदा सरकारबाट पाउने सेवासुविधा रोकिएको सँगै कमाएको केहि रुपैयाँसमेत बचत गर्न नपाएको मैयाको भनाइ छ ।
नमोबुद्ध नगरपालिका ४ का वडाअध्यक्ष उद्धब काफ्लेले भने परियारलाई वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार नागरिकताको समस्या भएका तर नपाएकाहरू वार्षिक करिब ११ सयको सङ्ख्यामा आउने गरेका छन् ।
उनीहरूलाई आवश्यक समन्वयका लागि स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय गर्दै काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।
विशेषगरी कम उमेरमा विवाह गरेर श्रीमानसँग राम्रो सम्बन्ध नभएका, नागरिकता नबनाइकनै विवाह अनि सम्बन्धविच्छेद गरेका महिलाहरूलाई समस्यामा पर्ने गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८, १०:०९