काठमाडौँ । माटो परीक्षण गरेर खेती गर्ने किसानको सङ्ख्या नेपालमा अझैँ बढ्न सकेको छैन ।
झन्डै ६५ प्रतिशत नागरिक कृषिमा संलग्न भए पनि माटो परीक्षण गरेर खेती गर्ने परिपाटीको विकास हुन नसकेको हो ।
बालीबिरुवालाई आवश्यक पर्ने १७ प्रकारका पोषक तत्व मध्ये १४ प्रकारका पोषक तत्व बिरुवाले माटोबाट प्राप्त गर्छ ।
तर किसानले आफ्नो बारीको माटोको अवस्था थाहा पाउन सकेका छैनन् ।
माटो परीक्षण गर्दा हुने फाइदाबारे थाहा भए पनि अहिलेसम्म परीक्षण गर्न नपाएको रुपन्देहीको ओमसतिया गाउँपालिका ६ का धरमदेव धोबीको भनाइ छ ।
धोबी भन्नुहुन्छ, ‘धान, गहुँ, आलु प्रत्येक वर्ष बेच्छु, माटो परीक्षण गर्दाको फाइदा पनि मलाई थाहा छ तर चाहेर पनि परीक्षण गराएको छैन ।’ उहाँले गाउँपालिका क्षेत्रमा माटो परीक्षणका कार्यक्रम कहिल्यै सञ्चालन नभएको गुनासो गर्दै भन्नुभयो ।
प्रदेश र केन्द्रमा गरी ९ वटा माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ ।
केही स्थानीय तह तथा जिल्लामा अस्थायी प्रयोगशाला सञ्चालनमा छन् तर पनि माटो जाँच गर्ने किसानको सङ्ख्या बढ्न सकेको छैन ।
केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख सावित्री बरालले जनशक्तिको अभावकै कारण माटो परीक्षण सोचेजति हुन नसकेको बताउनुभयो ।
बरालले सीआईएनसँग कुरा गर्दै केन्द्रीय प्रयोगशालाको माटो परिक्षण गर्ने ल्याबमा ७ जनाको दरबन्दी रहेकामा २ जना मात्रै कार्यरत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘केही वर्षअघिसम्म बजेट स्रोतसाधनको अभाव हुन्थ्यो, तर अहिले जनशक्तिको अभाव छ, यही अवस्था रहिरहे कार्यालयमा आउने, हाजिरी गर्ने र जानेमा मात्रै प्रयोगशाला सिमीत रहन्छ ।’
किसानलाई चेतना जगाउनेदेखि प्रयोगशाला प्राविधिकको व्यवस्था गर्न स्थानीय सरकार जिम्मेवार हुनुपर्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्व मुख्य वैज्ञानिक विष्णुहरि अधिकारीको भनाइ छ ।
बजेट र कार्यक्रम भए पनि कार्यान्वयन प्रभावकारी रूपमा गर्न नसकेको उहाँको भनाइ छ । केही स्थानीय तहमा अस्थायी प्रयोगशाला स्थापना गरिए पनि किसानको पहुँचमा छैनन् ।
माटो परीक्षणको सजिलोका लागि प्रदेशस्तरमा प्रयोगशाला भने स्थापना गरिएका छन् । गण्डकी प्रदेश अन्तर्गतको माटो तथा मल परीक्षण प्रयोगशालाका सूचना अधिकारी अस्मिता काफ्लेले प्रदेशभर घुम्ति शिविर सञ्चालन गरिरहेको बताउनुभयो ।
गण्डकी प्रदेशभर कार्यक्षेत्र रहेको प्रयोगशालाबाट वार्षिक ६ सय नमूना परिक्षण हुने गरेको छ ।
‘स्थानीय तहसँग समन्वय गरेर स्थलगत शिविर सञ्चालन गर्छौ ।’ काफ्लेले भन्नुभयो ‘माटो परीक्षण गर्ने किसानको सङ्ख्या बढ्दैछ ।’ एउटा शिविरबाट करिव ४ सय माटो तथा मलको नमूना सङ्कलन गरी परीक्षण गरिन्छ ।
किसानलाई चेतना जगाउनेदेखि प्रयोगशाला प्राविधिकको व्यवस्था गर्न स्थानीय सरकार जिम्मेवार हुनुपर्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्व मुख्य वैज्ञानिक विष्णुहरि अधिकारीको भनाइ छ ।
अधिकारी थप्नुहुन्छ, ‘प्रयोगशाला केन्द्रीकृत भइरहेको छ, तीन तहको सरकार बनेसँगै अधिकांश संरचना घटाइएका छन् । जसले किसान थप मर्कामा परे ।’
जिल्ला र प्रदेशस्तरमा प्राविधिकसहित प्रयोगशाला स्थापना गर्नुपर्ने अधिकारी बताउनुहुन्छ । विश्वभरमा कुल भूभागको ३० प्रतिशतमा अम्लीयपना रहेको छ भने खेतीयोग्य जमिनको ५० प्रतिशत माटो अम्लीय छ ।
नेपालको खेती गरिने जमीनको ५३ प्रतिशत माटो अम्लीय प्रकृतिको छ ।
टोको अम्लीयना बढ्दा माटो कडा हुने जसले गर्दा बिरुवाको बृद्धि र विकासमा असर गर्दा उत्पादनमा धेरै नराम्रो प्रभाव पार्ने कृषि प्राविधिकहरूको भनाइ छ ।
कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेल माटो परीक्षण गर्ने किसानको सङ्ख्या बढाउन सरकारले कार्यक्रम सञ्चालन गरेको दावी गर्नुहुन्छ ।
‘माटो परीक्षण गर्ने प्रयोगशालाको सुदृढिकरण लगायतका कार्यक्रम छ । शिविर सञ्चालन गरेर स्थलगत माटो परीक्षण गर्ने कार्यक्रम पनि रहेको छ ।’पौडेलले भन्नुभयो ।
माटो स्वस्थ रहन यसमा रहने प्राङ्गारिक पदार्थको मात्रा ३ देखि ५ प्रतिशत हुन आवश्यक भए पनि हाल नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा औषत १.९६ प्रतिशत रहेको छ ।
कृषि विभागका अनुसार नेपालको खेती गरिने जमिनको ५३ प्रतिशत माटो अम्लीय प्रकृतिको छ ।
माटो परीक्षणलाई सबैको पहुँचमा पुर्याउन स्थानीय सरकारले पहल गर्नुपर्ने किसानहरू बताउँछन् ।
प्रकाशित मिति: शनिबार, पुस ३, २०७८, १५:३६