काठमाडौँ । आजदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइँदै छ ।
देशभरका ५७ जिल्लामा १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले सबै १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई आ-आफ्नो विद्यालयमा अनिवार्य खोप लगाउन आग्रह गरेको छ ।
खोप शाखाका प्रमुख डा.सागर दाहालले आजदेखि पुस १४ गतेसम्म मोडर्नाको खोप लगाइने र खोपको दोस्रो मात्रा माघ २ देखि १२ गतेसम्म दिइने बताउनुभयो ।
उहाँले खोप अभियान विद्यालयमा सञ्चालन हुने भएकाले बालबालिकालाई सहज हुने हुँदा आफू अध्ययनतर विद्यालयमा अभिभावकसँगै गएर खोप लगाउन पनि सबैलाई आग्रह गर्नुभयो ।
पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने मन्त्रालयले जनाएको छ ।
प्रदेश १ का ११ जिल्ला, प्रदेश २ का पाँच जिल्ला, बाग्मती प्रदेशका सात जिल्ला, गण्डकी प्रदेशका नौ जिल्ला, लुम्बिनी प्रदेशका नौ जिल्ला, कर्णाली प्रदेशका नौ र सुदूरपश्चिम प्रदेशका सात जिल्लामा खोप अभियान सञ्चालन हुँदै छ ।
हालसम्म नेपालमा ३६ लाख ५१ हजार २ सय मोर्डना खोप आइसकेको छ ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८, ०९:१८