काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्व आएपछिको पहिलो केन्द्रीय समितिको बैठक भोलिका लागि बोलाइएको छ ।
भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक आह्वान भएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकअघि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई प्रमाणपत्र दिइनेछ ।
भोलि बिहान ११ बजे प्रमाणपत्र वितरणको समय तय भएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले सीआईएनसँग बताउनुभयो ।
गएको मङिसर २४ देखि २८ गतेसम्म काठमाडौँमा नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन भएको थियो ।
महाधिवेशनबाट काँग्रेसको केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना निर्वाचित भएका छन् ।
सभापतिसहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८, ११:०३