काठमाडौँ । २६ वर्षअघि सशस्त्र युद्धको सुरुवात गर्दा माओवादीले सुरु गरेका नारा थिए, ‘धनीगरिव सबै बराबर, उचनिच व्यवहारको अन्त्य र असल चरित्रको निर्माण ।’
तर तिनै नाराका कारण माओवादी विचार बोकेका युवादेखि वयस्कसम्मका मानिस कोही खाडी मुलुक पुगेका छन् भने कोही गाउँघरमै छन् तर कता जाने, के गर्ने भन्ने द्विविधामा देखिन्छन् ।
विशेषगरी जब सशस्त्र युद्धका लागि जनसमर्थन जुटाउनुपर्ने भयो, माओवादी नेताकार्यकर्ता गाउँ छिर्न थाले ।
उनीहरूले भ्रष्ट भनिएका व्यक्तिलाई नियन्त्रणमा लिएर कालोमोसो दलेर सार्वजनिक गर्थे । माओवादीको निसानामा गलत आचरण भएका भनिएका व्यक्ति पनि पर्थे ।
जाँडरक्सीका कारण समाज विग्रिएको निष्कर्षका साथ रक्सी बनाउन प्रयोग हुने भाँडाकुँडा फाल्ने अभियान सुरु गरिएको थियो भने जुवा खेल्नेलाई नै तासका पत्ति चपाउन लगाइन्थ्यो ।
जातीय तथा वर्गीय विभेद हटाउन त्यस्ता कार्य गर्नेकै घरमा सामूहिक खाना खुवाइन्थ्यो । यस्ता व्यवहार र सिद्धान्तका कारण खासगरी विपन्न नागरिकको भरोसा माओवादी पार्टीप्रति थियो ।
यी सबै कुरा चरणवद्ध रुपमा हुने गरेको रोल्पाको तत्कालीन जनमुक्ति सेनाको संयोजन समेत गर्नु भएका पूणर्बहादुर ओली सम्झनुहुन्छ ।
सशस्त्र युद्ध सुरु भएको करिव १० वर्षपछि शान्ति प्रक्रिया हुँदै माओवादी नेताहरू काठमाडौँ छिरेपछि भने उनीहरूको सिद्धान्त र व्यवहारमा सन्तुलन मिल्न छोडेको कार्यकर्ता स्वीकार्छन् ।
जनताको जीवनस्तर जस्तो बनाउने र जहाँ पुर्याउने आश्वासन माओवादीले दिएको थियो ।
त्यसअनुसार त भएन नै, नेताहरूनै गलत बाटोमा लागेका कारण जनस्तरको समर्थन गुम्दै गएको आजपर्यन्त माओवादीमा छलफल हुने गरेको छ ।
हुन त माओवादी कार्यकर्तास्तरमा निरासा मात्रै छैन ।
पार्टी सङ्गठन जतिसुकै कम्जोर बने पनि आशावादी नेताकार्यकर्ता अझैँ भेटिन्छन् ।
कुनै बेला मुलुककै सबैभन्दा ठूलो दल बनेको माओवादी सत्ता, संसद, सदनको स्वाद चाखिसकेपछि पार्टीलाई बलियो बनाउने बहसमा छ ।
तर जनयुद्धताका दिइएको आश्वासन र चलाइएको समाज रुपान्तरणको अभियान बिर्सिएर उल्टोबाटो रोजेको भन्दै जनस्तरबाट आलोचना पनि हुने गरेको छ ।
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८, १०:४७