बाँके । बाँकेमा चिसो छल्नका लागि आगो तापेका चार जनाको निसासिएर मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा बस्दै आएका एकै परिवारका चार जना सुतेकै अवस्थामा आज बिहान मृत भेटिएका हुन् । अरु तीन जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उहाँको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
घट्नाका बारेमा अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टमको रिपोर्टपछि मात्रै थाहा हुने उहाँले बताउनुभयो ।
एउटै कोठामा बसेका उनीहरुले राती आगो बालेर कोठाका सबै झ्याल ढोका बन्द गरेर सुतेको देखिएकोले निसासिएर मृत्यु भएको आशङ्का गरिएको प्रहरी प्रमुख एसपी अधिकारीको भनाइ छ ।
कोठामा बसेका अन्य तीन जना भट्टराईकी श्रीमती, ३ वर्षीय छोरा र बहिनीको उपचार भइरहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८, १०:०५