काभ्रे । काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा पुनर्निर्णण गरिएका तीनवटा भवन आज व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाट भवनहरु पुनर्निर्माण गरिएका हुन् ।
सुविधा सम्पन्न भवनहरुबाट पठनपाठन गर्न सजिलो हुने अपेक्षा गरिएको छ । पुनर्निर्माण लागत ९ करोड ९८ लाख रुपैयाँ रहेको छ । उद्घाटनपछि ती विद्यालय विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रतिरोधी संरचनासहित सुविधा सम्पन्न विद्यालय बनेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पुनर्निर्माणले गति लिएको भन्दै भूकम्पबाट क्षति भएका बाँकी संरचनाहरुको पनि पुनर्निर्माण गर्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पुनर्निर्माणपछि विद्यालयको भौतिक संरचना राम्रो भएको भन्दै शिक्षाको गुणस्तर वृद्धिमा पनि विशेष ध्यान दिनु पर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी र सुविधा सम्पन्न विद्यालय पुनर्निर्माणले अझ राम्रो र बलियो भन्ने नारा साकार हुँदै गएको बताउनुभयो । उहाँले विद्यालयहरु नमूनाका रुपमा पुनर्निर्माण भइरहेको भन्दै पुनर्निर्माण भइरहेका विद्यालयहरुको पुनर्निर्माण छिटो सम्पन्न गर्न लागिपरेको बताउनुभयो ।
कार्यक्रममएसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर मुख्तर खामुदखानोभ, धुलिखेल महानगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुलगायतले धारणा व्यक्त गर्नु भएको थियो । सो अवसरमा विद्यालय पुनर्निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६, १९:४२