काठमाडौँ । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न सरकारले स्वीकृति दिएको छ ।
अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
योसँगै चीनलगायत विभिन्न मुलुकमा भर्ना भएका तर कोरोना महामारीको समयमा नेपाल फर्केका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न सजिलो हुने उहाँले बताउनुभयो ।
शिक्षा मन्त्रालयको सिफारिसमा सरकारले यो निर्णय गरेको हो ।
सरकारले नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकाय प्रधानसेनापतिमा सिफारिस गरेको छ । रथी कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय सरकाररले गरेको छ ।
प्रधानसेनापति प्रभुराम शर्मा पुस १८ देखि ३० गतेसम्म घर बिदामा बस्नुहुने भएपछि बलाधिकृत रथी कार्कीलाई सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
बैठकले कृषि तथा पशुपन्छी मन्त्रालयका नेपाली कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा. गङ्गादत्त आचार्यलाई सार्क एग्रिकचल सेन्टर, ढाकामा वरिष्ठ कार्यक्रम विशेषज्ञ पदमा काम गर्न काजमा खटाउने, निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
सुर्खेत जिल्लाको साविक लेकफर्सा काफर कोर्ट र पराजुल गाविसको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय मेहलकुना सुर्खेतलाई हस्तान्तरण गरेर सेवा सञ्चालन गर्न स्वीकृत दिने, आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास समिति अध्यक्षमा भानु नगरपालिका – ४ तनहुँ निवासी श्रीराम पन्त र कार्यकारी निर्देशकमा श्रीशङ्कर रानाभाटलाई नियुक्ति गर्ने निर्णय पनि भएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८, १८:४२