काठमाडौँ । नेकपा माओवादी केन्द्रले जारी आठौँ महाधिवेशनबाट सकभर सहमतिकै आधारमा केन्द्रीय समितिको टुङ्गो लगाउने भएको छ ।
सहमितको प्रयास गर्न बन्दसत्र आज साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको नेता देव गुरुङले जानकारी दिनुभयो ।
स्थायी समिति सदस्यसमेत रहनुभएका गुरुङले पेश गर्नुभएको विधान मस्यौदा आजै पारित भएसँगै सहमतिबाट केन्द्रीय समितिको टुङ्गो लगाउन बन्दसत्र स्थगित गरिएको हो । महाधिवेशनबाट आजै केन्द्रीय समितिको टुङ्गो लगाउने माओवादीको तयारी छ ।
विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ ।
केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ ।
यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पुर्याइएको छ । महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ ।
पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् ।
पचास प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ ।
केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८, १६:२९