काठमाडौँ । काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत केन्द्रीय समिति सर्वसम्मत घोषणा गर्ने प्रयासमा शीर्ष नेताहरू जुटेका छन् ।
हिजो दिनभरको प्रयास निष्कर्षमा नपुगेपछि निर्वाचन कार्यक्रम आज दिउँसोम्मका लागि स्थगित गरिएको छ ।
केन्द्रीय सदस्यमा सहमति गरेर आज दिउँसो बन्दसत्रमा घोषणाको तयारी भइरहेको नेता रामनारायण विडारीले जानकारी दिनुभयो । हिजो दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन तालिकासमेत प्रकाशित गरेको थियो ।
केन्द्रीय समितिमा सर्वसम्मत निणर्यका लागि हिजो साँझ ५ बजेसम्म बन्दसत्र स्थगित गरिएको थियो भने स्थायी समितिमा पनि छलफल भएको थियो ।
गएराति ८ बजे उम्मेद्वारी दर्ताको समय तोकिए पनि शीर्ष नेताहरूबीच थप छलफलका लागि भन्दै आज दिउँसो २ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको अनुरोधमा निर्वाचन कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो ।
आयोगका अनुसार १ हजार ७ सय ४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशिन भइसकेको छ ।
हालसम्म अध्यक्ष प्रचण्डलाई चुनौती दिने गरि कुनै पनि नेताको दाबी देखिएको छैन । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना रहेको माओवादीका शीर्ष नेताहरूले बताउँदै आएका छन् ।
महासचिवमा जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन लगाएतले चाहना राखेका छन् । दुई उपमहासचिव, सचिव र कोषाध्यक्षमा भने विभिन्न वर्ग, क्षेत्र मिलाएर सकेसम्म सर्वसम्मत उम्मेद्वार छान्ने, नभए निर्वाचन गर्ने तयारी नेतृत्वले गरेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८, १०:३०