काठमाडौँ । आजका लागि बोलाइएको बैठक चार दिन पर अर्थाथ आगामी विहीवारसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
सङ्घीय संसद सचिवालयले विशेष कारणवश बैठक स्थगित गरेको भने पनि सत्ताधारी दल नेकपा माओवादी केन्द्रको आग्रहमा बैठक सारिएको संसद सचिवालय स्रोतले जनाएको छ ।
‘माओवादी केन्द्रको काठमाडौँमा ६ दिनदेखि राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसैले उहाँहरूले बैठकमा आउन समस्या हुने बताउनुभयो ।’ स्रोतले भन्यो ।
प्रतिपक्षी दलले नाराबाजी र विरोधलाई निरन्तरता दिइरहेको बेला सत्तागठबन्धनमध्येको एक माओवादी केन्द्र नआउँदा पर्ने प्रभावलाई ध्यान दिँदै बैठक सार्ने निष्कर्षमा सभामुख अग्नि सापकोटा पुग्नुभएको बुझिएको छ ।
एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदहरूको सूची निशर्त सार्वजनिक नगरेसम्म सदन चल्न नदिने अडान राख्दै आएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ प्रस्तुत गर्ने कार्यसूची थियो ।
संसदाई प्रभावकारी रूपमा कसरी चलाउने चन्ने बारेमा छलफलका लागि आज बिहान साढे ११ बजेका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित गरिएको छ ।
संसदको प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण सङ्घीय संसदको दुबै सदन निरन्तर प्रभावित हुँदै आएको छ ।
एमालेको अवरोधका बीच संसदबाट अत्याआवश्यक विधेययकहरू पारित भइरहेका छन् । सदन राम्रोसँग चल्न नपाउँदा विधेयहरूमा पर्याप्त छलफल र बहस हुन सकेको छैन ।
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८, १०:५०